झापाका चिया मजदुरले उद्योगीको सडकमा पुत्ला दहन

१५ वैशाख, झापा । झापाका चिया मजदुरले चिया उद्योगीको आज पुत्ला दहन गरेका छन् । बिर्तामोडस्थित मुक्ति चोकमा उनीहरुले चिया उद्योगीका पुत्ला दहन गरेका हुन् ।

राजपत्रमा अंकित भए अनुसारको चिया मजदुरले ज्याला नभएको भन्दै उनीहरु गत चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । सरकारले साउन १ गतेदेखि लागूहुने गरी बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३५० रुपैंया तोकेको थियो । उद्योगमा काम गर्ने श्रमिकलाई ४२ रुपैंया थपेर ४२७ रुपैंया तोकेको थियो ।

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार चार सय ६९ रुपैयाँ र मङ्गी भत्ता चार हजार तीन सय ८१ रुपैयाँ तोकिएको छ । तर, यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ ।

श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचारलगायतको व्यवस्था छ । एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने ऐनमा उल्लेख छ । आफ्नो धर्म–संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ । श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करारलगायतको व्यवस्था छ ।

नेपालमा वार्षिक करीब दुई करोड ५० लाख किलो तयारी चिया उत्पादन हुने गरेको तथ्याङ्क राष्ट्रिय चिया तथा कफी विकास बोर्डको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *