धनकुटामा रोकिएन गाँजा खेती

धनकुटा, भदौ १५ । धनकुटामा अवैध गाँजा खेती फस्टाउँदै गएको पाइएको छ । प्रहरी तथा स्थानीय प्रशासनले बर्सेनि गाँजा फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन । विभिन्न स्थानमा लुकाइछिपाइ लगाइएको अवैध गाँजा खेती प्रहरीले फँडानी गरेको छ । अवैध लागुऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिका–४ र ७ मा लगाइएको गाँजा फँडानी गरेको हो ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बल हेडक्वाटर नम्बर ६ गुल्मबाट खटिएको प्रहरी टोलीले सहिदभूमिको साप्तिङटार र तित्रेमा करिब चार हजार बोट गाँजाको फडानी गरि नष्ट गरेको हो । धनकुटामा २०३६ सालबाटै सुरु भएको गाजा खेती हाल आएर व्यापक मात्रामा हुन थालेको पाइएको छ ।

गाउँमै पाँच हजार रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने गरेको खेती बढ्दै गएको पाइएको छ । अहिले सहिदभूमिको फलामेटार र तित्रेमा व्यावसायिक गाँजा खेती हुने गरेको सूचनाको आधारमा फडानी गरिएको र अन्य ठाउँमा पनि फँडानी गरिने प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । उनले भने, ’बर्से्नि फँडानी गर्दा र सचेतना दिँदा पनि स्थानीयवासीले ठूलो मात्रामा गाँजा खेती गर्न छाडेका छैनन् ।’ उनले थपे, ’कतिपय ठाउँमा अझै प्रहरी प्रशासन पुग्न सकेको छैन ।’ जिल्लाको विशेषगरी अरुण र तमोर नदीको किनार क्षेत्र सहिदभूमि गाउँपालिकाको छिन्ताङ्ग र खोकु, साँगुरीगढी गाउँपालिकाको आहाले र पाख्रिवास नगरपालिकामा क्षेत्रमा गाँजाको व्यवसायिक खेती हुने तथा अवैध उत्पादन, बेचबिखन र ओसारपसार हुने गरेको पाइएको छ ।

गाँजाका लागि भारतीय व्यापारीले ठूलो लगानी गर्ने गोप्य सूचना प्राप्त भएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए। गाँजाकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।

गाँजा फँडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। गाँजा खेतीगर्न नेपाल सरकारले रोक लगाएको हुँदा अवैधरुपमा उत्पादन, खरिद विक्री तथा ओसारपसारमा प्रहरीको निगरानी जारी रहने प्रहरीको भनाइ छ । कृषकहरुले कानुनी रुपमा प्रतिबन्धित गाँजाको व्यवसायिक रुपमा खेति गर्ने गरेका छन भने गतिलो आम्दानीको श्रोत गाँजा बनाएका छन् ।

गाँजा फडानी कार्य वर्षेनी भएपनि कृषकहरुले गाँजा खेतीलाई त्यागेर अरू बाली लगाउनतर्फ लागेको पाइँदैन । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने व्यवस्था छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत गाँजाको प्रयोग, ओसारपसार तथा खेती गरेको खण्डमा गैरकानुनी ठहर गरी एक महिना कैद वा तीन हजार रुपैयाँ जरिवानादेखि लिएर दश बर्ष कैद र एकलाख रुपैयाँसम्मको जरिवाना तिराउने कानुनी प्रावधान छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *