सहमति जुटेन प्रदेश १ को राजधानीका लागि चार प्रस्ताव दर्ता

माेरङ । प्रदेश सभा सचिवालयमा प्रदेश १ को राजधानीकालागि चारवटा प्रस्ताव दर्ता भएका छन् । सचिवालयले वैशाख २२ गतेसम्म राजधानी र नामाङ्कनको प्रस्ताव दर्ता गर्न समय दिएको थियो । निर्धारित समयभित्र राजधानीकालागि चार प्रस्ताव दर्ता भएका हुन् । ‘प्रदेश सभा सचिवालयले उपलव्ध गराएको समयसम्म प्रदेश नामाङ्कनकालागि कुनै पनि प्रस्ताव दर्ता भएन,’ प्रदेश सभाका सचिव गोपाल पराजुलीले भने, ‘सचिवालयमा राजधानीकालागि मात्र चार प्रस्ताव दर्ता भएके छन् ।’ उनले दर्ता भएको प्रस्ताव बैशाख २३ गते बस्ने संसद बैठकमा पेश हुने पनि जानकारी दिए ।

सचिवालयमा चारमध्ये धनकुटा र विराटनगर राजधानी बनाउनु पर्ने दुई÷दुई प्रस्ताव दर्ता भएका छन् । दलहरुबीच र एउटै दलभित्र पनि सहमति बन्न नसकेपछि फरक फरक प्रस्ताव दर्ता भएका हुन् । राजधानीको विषयमा सबै भन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी भित्र पनि सहमति बन्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंस र तेश्रो ठूलो दल संघीय समाजवादी फोरम नेपालमा पनि राजधानीको विषयमा सहमति जुट्न सकेन ।

प्रदेश सभामा दुई तिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश १ को स्थायी राजधानी विराटनगर रहने प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सदस्यहरु यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी, बिजय विश्वास, राजेन्द्र राई, विमल कार्की , राजकुमार ओझा र लिलम बस्नेतको समर्थनमा प्रस्ताव दर्ता भएको हो । सो प्रस्तावको कैफियत खण्डमा कार्यपालिका, व्यवस्थापिका लगायत अन्य संरचनाहरु विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासका क्षेत्रमा रहने छ भन्ने उल्लेख गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार र नेपाली काग्रेंसबाट प्रतिनिधित्व गर्ने एक जना गरी पाँच जना सांसदहरुले छुट्टै प्रस्ताव दर्ता गराए । प्रस्ताव दर्ता गर्नु अघि बसेको संसदीय दलको बैठकमा नोट अफ डिसेन्ट लेखेर बाहिरिएका नेकपाका सांस्दहरुले काग्रेंसका सांसद लिला सुब्बाको समर्थनमा धनकुटालाई राजधानी बनाउनु पर्ने छुट्टै प्रस्ताव दर्ता गराए । प्रदेश सभा सदस्य निरन राई प्रस्तावक र कुसुमकुमारी श्रेष्ठ, इन्द्रमणि पराजुली, बिनादेवी राई र लिला सुब्बा समर्थक रहेको प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले शिवनारायण गनगाई र संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवको समर्थनमा विराटनगरलाई राजधानी बनाउनु पर्ने प्रस्ताव दर्ता गराएका छन् । उता काग्रेंस सांसद लिला सुब्बाको प्रस्तावमा प्रतापप्रकाश हाङ्गाम र संघीय समाजवादी फोरमका सांसद रामचन्द्र लिम्बुको समर्थनमा धनकुटा राजधानी बनाउनु पर्ने चौथो प्रस्ताव पनि दर्ता भएको छ ।

प्रदेश सभाको वैशाख १५ गते बसेको बैठकले प्रदेश नामाङ्कन र राजधानीको प्रस्तावको सूचना प्रकाशन गर्न निर्देशन दिएपछि संसद सचिवालयले १९ गतेसम्मकालागि प्रस्ताव दर्ताको समय दिएको थियो । त्यस अवधिमा कुनै पनि प्रस्ताव दर्ता नभएपछि दोश्रो सूचना प्रकाशन गर्दै २२ गतेसम्मको समय प्रस्ताव दर्ताकालागि दिइएको थियो । संसदको ठूलो दल नेपाल कम्युनिष्ट पार्टीले नामको प्रस्ताव स्थगत गर्ने निर्णय गरेपछि अन्य दलहरुले पनि नामाङ्कनको प्रस्ताव दर्ता नगराएका हुन् । सचिवालयमा चार प्रस्ताव दर्ता भएपनि सोमबारसम्म सबैको सहमतिमा एउटै प्रस्ताव सदनमा पेश हुने मुख्यमन्त्री शेरधन राईले बताए ।

‘हामीले वृहत विराट क्षेत्रको विराटनगरमा राजधानी रहने प्रस्ताव तयार गरेका थियौं तर काग्रेंसको आग्रहमा त्यसलाई परिवर्तन गरेर प्रदेशको राजधानी विराटनगर हुने प्रस्ताव दर्ता गराएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘प्रदेशको राजधानी विराटनगर हुन्छ, केही संरचनाहरु वृहत विराट क्षेत्र भित्र विराटनगर, इटहरी र सुन्दरहरैंचा वरिपरि रहन्छन् ।’ मुख्यमन्त्री राईले प्रदेश सभा वा मन्त्रालयहरु इटहरी वा अन्यत्र लगिन्छन् भन्ने कुरा सत्य नभएको पनि स्पष्ट पारे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *