यी हुन् विवादित प्रहरी प्रमुखहरु

१ जेठ, झापा । झापाको बिर्तामोडमा रहेको इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका प्रहरी प्रमुख पटक–पटक विवादमा फस्दै आएका छन् ।

गृहमन्त्रालयले २०५७ सालबाट प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी खटाएको थियो ।
वि.सं. २०५७÷१२÷२देखि प्रहरी निरीक्षक सन्दीप भण्डारीले नेतृत्व गरेका थिए । १४ जना प्रहरी निरीक्षकले नेतृत्व सम्हालेपछि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा प्रहरी टोली खटिएको थियो । हालसम्म १० जना डीएसपीले बिर्तामोडको कमाण्ड सम्हालिसकेका छन् ।

तर, तीमध्ये अधिकांश प्रहरी प्रमुख विभिन्न विवादमा परेका छन् । पछिल्लो समय वि.सं. २०७५ माघ ३ गते इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका डीएसपी सुवास खड्का आफ्नो कुर्सीमा अर्कै बसेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरे लगत्तै कारबाहीमा परेर सरुवा भएका छन् । उनी बैशाख १ गते राति हिरासतमा रहेका एक किशोरको मृत्यु भएपछि विवादमा तानिएका थिए ।
त्यस्तै वि.सं. २०७४ कात्तिक २७ गते अनारमनीको नेतृत्व सम्हाल्न आएका डीएसपी कृष्णप्रसाद कोइरालाले १४ महिना नेतृत्व सम्हाल्दा उनी पनि विवादमा परे । उनी जग्गा विवादमा मुछिएका थिए । २०७४ भदौ ९ गते बिर्तामोडको नेतृत्व सम्हाल्न आएका डीएसपी राजकुमार सिलवाल दुई महिना पनि राम्रोसँग टिक्न सकेनन् । अर्जुनधारा–११का ११ बर्षीय बालक लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्यु भएपछि छानबिनको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि बिर्तामोड लामो समयसम्म तनाबग्रस्त बन्न पुगेको थियो । बिर्तामोडको इतिहासमा नै सबैभन्दा लामो करफ्युको सामना पनि बिर्तामोडबासीले त्यही बेला व्यहोर्नुपरेको थियो । उनी २०७४ कात्तिक १३ गते बिर्तामोडबाट सरुवा भएका थिए ।

त्यस्तै २०७२ साल असोज ३ गतेदेखि ०७३ असोज २३ गतेसम्म बिर्तामोडको नेतृत्व सम्हालेका डीएसपी खड्कबहादुर खत्री जग्गा विवादमा परेका थिए । सोही जग्गाको विषयलाई लिएर उनी विवादमा मुछिएका थिए । त्यस लगत्तै उनको सुरुवा भएको थियो । बिर्तामोडको नेतृत्व सम्हाल्न २०७२ भदौ ४ गते आएका डीएसपी प्रज्ज्वल महर्जन पनि धेरै टिक्न सकेनन् । उनको असोज २ गते नै सरुवा भएको थियो । सुरुङ्गामा राखिएको बम डिस्पोज गर्नुको सट्टा हातले हटाउँदा पड्किएपछि उनी विवादमा परेका थिए । त्यस लगत्तै उनको चर्को आलोचना भएको थियो र उनी विभागीय कारबाहीमा परेका थिए ।
वि.सं. २०७० असोज १० गतेदेखि २०७१ वैशाख ३० गतेसम्म नेतृत्व सम्हालेका डीएसपी भूवनेश्वर तिवारी चोरीको गाडीमा प्रहरीको नम्बर प्लेट हालेर सवार भएपछि विवादमा मुछिएका थिए । डीएसपी आफैं चोरीको गाडीमा हिँड्ने गरेको खुले लगत्तै उनको सरुवा भएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका डीएसपी रवीन्द्र केसी, सञ्जयबहादुर राउत, केशवकुमार थेबे, जीतेन्द्रकुमार बस्नेत भने विवादमा परेनन् । तर, बिर्तामोडमा सफल भएर गएका राउत ३३ किलो सुन काण्डमा मुछिएर हाल झुम्का कारागारमा रहेका छन् । PurwanchalDailly

Leave a comment

Your email address will not be published. Required fields are marked *