पूर्वाधार नहुँदा भद्रपुर भन्सारमा समस्या

भद्रपुर । भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भएको करिब ९ महिना बित्यो । नेपाल–भारत जोड्ने भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै भन्सार विभागले चालू आर्थिक बर्षको भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति गरेको हो ।

वि.सं. २०३९ सालमा स्थापना भएको भद्रपुर छोटी भन्सार कार्यालय त्यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टा मातहत थियो । भद्रपुर भन्सारको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १७ गते गरेका थिए ।

भौतिक पूर्वाधार बिनै मूल भन्सारमा परिणत हुँदा छोटीकै संरचनाबाट सेवा प्रदान गर्न भन्सार कर्मचारीलाई असहज भएको छ । २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गरेका थिए । पुलको उद्घाटन भए पनि नेपाल–भारत दुवैतर्फ सडकले निकाश नपाउँदा भद्रपुर भन्सारमा कामकाजको चाप बढेको छैन । जसले गर्दा भौतिक पूर्वाधार बिनाको भन्सारमा कर्मचारीलाई काम गर्न केही राहत मिलेको छ ।

करिब १० कठ्ठा जमिनमध्ये ७ कठ्ठा जमिनमा अहिलको भन्सार छ । ३ कठ्ठा जमिन पुलको सडकमा प¥यो– भन्सार अधिकृत फणिन्द्र दाहालले भने– भन्सारमा संरचनाको अभाव छ, बाटोले गर्दा कार्यालय भवन आधा भत्काउनुप¥यो, जसले गर्दा कार्यालयको काम कारवाहीमा समस्या परेको छ । कर्मचारीलाई आवासको समेत समस्या रहेको बताउँदै उनले भने– विभागले चालू आर्थिक बर्षमा करिब एक करोड बजेट कार्यालय व्यवस्थापनको लागि पठाएको छ, सोही बजेटबाट कार्यालय सञ्चालनका लागि एउटा भवन निर्माण हुँदैछ । दुई तले कर्मचारी आवास निर्माणको काम पनि अघि बढिसकेको उनले बताए ।

१० बिगाह जमिन अधिग्रहण गर्ने तयारी 

विभागले भन्सारको स्तरोन्नति त गर्यो, तर जमिन अधिग्रहण र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिएन । जमिन अधिग्रहण गरी आधुनिकस्तरको भन्सार कार्यालय स्थापनाका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यापारी र कर्मचारीले आ–आफ्नो तहबाट पहल शुरु गरे । मेची पुल जोड्ने सडक उत्तरतर्फको जमिन भद्रपुर भन्सारको लागि लिन तत्कालीन भन्सार अधिकृत गणपति कँडेलले भन्सार विभागसम्म कुरा पु¥याए । अधिकृत कँडेलको कात्तिक ७ गते सरुवा भएपछि उनको ठाउँमा भन्सार अधिकृत फणिन्द्र दाहाल आए । दाहालले पनि जमिन अधिग्रहणलाई प्राथमिकतामा राखेर काम कारवाही अगाडि बढाए ।

हाल भएको भन्सारदेखि उत्तरपट्टिको १० विगाह जमिन अधिग्रहणको नक्सा मालपोत र नापीबाट निकालेर सम्पूर्ण कागजात भन्सार विभाग पठाइसकेका छौं– अधिकृत दाहालले भने– भन्सार विभागले प्रक्रिया अघि बढाएर प्रस्तावित फायल अर्थ मन्त्रालय पठाइसकेको छ, अर्थले पनि बजेट आवश्यकसहितको प्रस्तावित फायल स्वीकृतिका लागि मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पठाएको थियो । मन्त्रीपरिषद् बैठकमा जमिन अधिग्रहणको प्रस्तावित फायल स्वीकृत भइसकेको जानकारी गराउँदै अधिकृत दाहालले भने– जमिन अधिग्रहणको विषय भन्सारमा आइपुगेपछि कन्सल्टेन्सीमार्फत डिजाइन बनाएर हामी पहिलो चरण अन्तर्गतको जमिन खरिद प्रक्रियातर्फ लाग्छांै ।

यही आर्थिक बर्षभित्र पहिलो चरणको काम सक्ने लक्ष्य राखेको बताउँदै उनले भने– ‘केही ढिला भए अगामी आर्थिक बर्षको असोजभित्र जसरी पनि जमिन खरिद गरिसक्छौं । अधिग्रहणको काम सकेपछि दीर्घकालीन योजना अनुसार भौतिक पूर्वाधार निर्माण गर्न कम्तीमा ४ देखि ५ बर्ष लाग्न सक्छ, यसतर्फ विभागदेखि मन्त्रालय सकारात्मक छ– उनले थपे । भन्सार विभागका महानिर्देशक रामेश्वर खनालले चासो देखाउँदै भन्सारको जमिन खरिद गर्न स्थल अनुगमन समेत गरेर गइसकेको जनाइएको छ ।

केचना छोटी भन्सार पुनः सञ्चालनमा

दक्षिणी झापाको कचनकवलमा आधा दशकदेखि बन्द रहेको केचना छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ । भारतको कादोगाउँ नाकासँग जोडिएको चारआली केचना सडकखण्डलाई लक्षित गरी केचना छोटी भन्सार पुनः सञ्चालनमा ल्याएको भन्सार अधिकृत दाहालले बताए । स्थानीयको निजी जमिनमा दुई तले काठको घरमा सञ्चालन हुँदै आइरहेको केचना छोटी भन्सार सुरक्षाको दृष्टिले र जीर्ण भवन भएका कारण बन्द भएको थियो ।

सो नाकामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापनासहित कालोपत्रे सडक बनेपछि स्थानीयको माग अनुसार कचनकवल गाउँपालिकाले भद्रपुर भन्सारसँग पुनः छोटी भन्सार राख्न पत्राचार गरेको थियो । गाउँपालिकाले फागुन ८ गते भद्रपुर भन्सारमा पत्राचार गरेको बताउँदै अधिकृत दाहालले भने– ‘कचनकवल १ नम्बर वडा कार्यालय परिसरभित्र बुधवारदेखि पुनः भन्सार सञ्चालनमा ल्याएका छौं ।’ उनका अनुसार केचनामा भन्सार सञ्चालनमा ल्याउनुअघि भन्सार बिभागका महानिर्देशक रामेश्वर खनालसहितको टोलीले बैशाखको पहिलो हप्ता स्थलगत निरीक्षण गरेको थियो ।

‘खरदार राजकुमार प्रसाईको नेतृत्वमा तीन जना कर्मचारी पठाएर भन्सार सञ्चालनमा आएको हो, कार्यालयमा चाहिने आवश्यक जिन्सी सामग्रीसहित बोर्ड समेत लगाइसकेका छांै’– उनले भने– ‘अब त्यहाँबाट चोरी तस्करी भएर नेपाल भित्रिने सरसामान नियन्त्रण र रोकथामसँगै राजश्व संकलनमा समेत टेवा पुग्छ ।’ यस भन्सार अन्तर्गत पाँच वटा छोटी भन्सार रहेका छन् । केचना, पाठामारी, घेरावारी, पन्तपाडा र कुमरखोद (झापा) । त्यसमध्ये कुमरखोद र केचना सञ्चालनमा छन् । अरु तीन वटा बन्द रहेको छ ।

लक्ष्य अनुसार राजश्व असुली

भारतको विहार तथा बंगाल राज्यसँग भद्रपुर नाका जोडिएको छ । सडक निकाश बिनाको भन्सारमा अहिले लत्ताकपडा, चिया, सुर्ती, जुत्ताचप्पल लगायतका सामान आउने गरेको छ । बार्षिक १५ करोड लक्ष्य राखिएको भन्सारमा मासिक लक्ष्य अनुसार राजश्व संकलन भइरहेको भन्सारको तथ्यांकमा उल्लेख छ ।

भन्सारको तथ्यांक अनुसार साउनमा ९५ लाख ५ हजार, भदौमा २ करोड ३० लाख २५ हजार, असोजमा २ करोड ६६ लाख ५६ हजार, कात्तिकमा १ करोड ७६ लाख ९९ हजार, मंसीरमा १ करोड ४२ लाख ६६ हजार, पुसमा १ करोड २७ लाख ५ हजार राजश्व असुली भएको छ ।
त्यस्तै माघमा १ करोड ३० लाख ४१ हजार, फागुनमा १ करोड ५३ लाख ७६ हजार, चैतमा १ करोड ७३ लाख ९९ हजार र बैशाखमा १ करोड १९ लाख राजश्व संकलन भएको भन्सारका सुब्बा रेवती गिरीले जानकारी दिए ।

भद्रपुर भन्सारमा राजश्वको तथ्यांक हेर्दा भदौ, असोज र कात्तिकमा मासिक लक्ष्यभन्दा बढी राजश्व संकलन भएको देखिन्छ भने मंसीर, पुस र माघमा लक्ष्य नै पुगेको छैन । राजश्व थपघट हुनुको मुख्य कारण चाडपर्व भएको सुब्बा गिरीले बताए । ‘यस भन्सारमा लत्ताकपडा बढी मात्रमा आउँछ’– उनले भने– ‘त्यही भएर राजश्व चाडपर्वको बेला ह्वात्तै बढेको हो, पुलबाट सवारीसाधन चल्न थालेपछि राजश्वमा पनि बृद्धि हुनेछ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *