पूर्वमा बढ्यो अपराध / प्रहरी अनुसन्धान फितलो

९ जेठ, झापा ।पूर्वमा एकपछि अर्को जघन्य अपराधका घटना बढ्दै गएको छ । झापामा एकैपरिवारका चार जनाको हत्या भएको वर्ष दिन बित्न नपाउँदै पाँचथरमा दुई परिवारका नौ जनाले अकालमा ज्यान गुमाएका छन् । झापामा परिवारका चारै सदस्यको जलेर मृत्यु भएको देखिए पनि वास्तविकता प्रहरीले अझै सार्वजनिक गर्न सकेको छैन् । नाबालकसहित चारै जनाको जलेर मृत्यु भएपछि प्रहरीले सत्य–तथ्य पत्ता लगाउन केही समय चासो देखाए पनि अहिले सो घटना ओझेलमा प¥यो ।

पूर्वको अपराधको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७५÷०७६को वैशाखसम्ममा ६७ जनाले ज्यान गुमाए । प्रहरीको तथ्याङ्क अनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी सुनसरीमा रहेका छन् । सुनसरीमा १० महिनामा १७ जनाले ज्यान गुमाएका छन् । मोरङमा पनि १० महिनाको अवधिमा ११ जनाको कर्तव्य ज्यानबाट मृत्यु भएको १नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धिराज न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार झापा आपराधिक गतिविधिका लागि तेस्रो नम्बरमा छ । झापामा १० महिनाको अवधिमा कर्तव्य ज्यानका कारण ७ जनाले ज्यान गुमाएका छन् ।

यसअवधिमा धनकुटामा ६, उदयपुर र इलाममा ४–४, भोजपुर र संखुवासभामा ३–३, जनाको हत्या भएको छ । पाँचथरमा १० महिनामा ३ जनाको हत्या भए पनि सोमबार राति दुई परिवारका नौ जनाको सामुहिक हत्या हुनुले सिंगो पाँचथरबासी मात्र होइन, देशकै शान्ति सुरक्षामाथि प्रश्न खडा भएको छ । ताप्लेजुङ र सोलुखुम्बुमा पनि यसअवधिमा २–२ जनाको कर्तव्य ज्यानका कारण मृत्यु भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४÷०७५मा पूर्वका १४ जिल्लामा एक सय ६ जनाको हत्या भएको थियो । अघिल्लो आर्थिक वर्ष र चालूआर्थिक वर्षको तथ्याङ्कलाई आधार मान्दा २३ महिनामा एक सय ८२ जनाको हत्या भएको छ ।

अपराधरहीत समाजको परिकल्पना गर्ने प्रहरीले विभिन्न खाले नयाँ–नयाँ कार्यक्रमहरु शान्ति–सुरक्षाका लागि सञ्चालन गरे पनि प्रहरीको अभियान अभियानमै सीमित देखिएको छ । झापामा घटेका घटनालाई मात्रै आधार मान्ने हो भने कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा प्रहरी चुकेको देखिएको छ ।

शिवसताक्षीमा खनाल परिवारका चार जनाको जलेर मृत्यु भएको घटनाको वास्तविकता सार्वजनिक गर्न नसक्नु, दुवागढीमा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापकको ओच्छयानमा हत्या हुनु, प्रहरी हिरासतमा किशोरको मृत्यु, जेलबाट कैदी फरार हुनु, जेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हतियार हराउनुले पनि झापामा प्रहरीको सुरक्षा व्यवस्था र अनुसन्धान कसरी अघि बढिरहेको छ भन्ने सहजै आंकलन गर्न सकिन्छ ।

पछिल्लो समय पाँचथरमा नौ जनाको हत्या भएपछि सिंगो प्रहरी संगठन लगायत सुरक्षा निकायमा सुरक्षा रणनीतिका विषयमा गम्भीर छलफल भएको बुझिएको छ । गृहमन्त्रालयका एक अधिकारीका अनुसार–गृहमन्त्रीले शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएपछि सुरक्षा निकायको सुरक्षा रणनीति परिर्वतन भएको हो । प्रहरीले केही अपराध घटनाको सत्यतथ्य पत्ता लगाई अपराधीलाई कानूनी दायरामा ल्याए पनि अधिकांश घटनाका दोषीले उन्मुक्ति पाउँदा सुरक्षामा थप चुनौति भएको सरोकारबालाको भनाइ छ ।

अपराध अनुसन्धानका लागि विश्वमा नै कहलिएको नेपाल प्रहरी पछिल्लो समय सफल अनुसन्धान गर्न नसक्दा आलोचित हँुदै गएको छ । प्रहरीले अनुन्धानका लागि अपराध अनुसन्धान महाशाखा (सिआईबी), तालिमप्राप्त कुकुरका साथै विशेष टोली नै खटाउने गरे पनि अपराधमा संलग्नहरुलाई पक्राउ गर्न भने असफल जस्तै देखिएको छ । अनुसन्धानमा ढिलो मात्र सफलता पाउने गरेकाले पनि प्रहरीप्रति जनविश्वास घट्दै गएको छ ।

यसैबीच पाँचथरको मिक्लाजुङ गाउँपालिका–३को आरुबोटेका धनराज सेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको थियो ।

घटनामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज सेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, ८ वर्षीया मुना सेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती फर्किमाया फियाक र १२ वर्षीया श्रेया फियाकको विभत्स हत्या भएको थियो । घटनामा १२ वर्षीया सीता खजुमले भने भागेर ज्यान जोगाएकी छन् ।

बुधबारको संसद बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नौं जनाको सामुहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । गृहमन्त्री थापाले संघीय संसद राष्ट्रियसभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आव्हान गरेका छन् ।

गृहमन्त्री थापाले घटनामा मारिएका नौजना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एकजनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जानकारी दिए । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली घटनास्थलमै रहको बताइएको छ ।

यसैबीच पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शवको पोष्टमार्टम भएको छ । हत्या भएका दुईवटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । भागेर ज्यान जोगाउन सफल सीताको लाइफलाइन अस्पताल झापामा उपचार भइरहेको छ ।

पोष्टमार्टमपश्चात हत्या गरिएका २ परिवारका आफन्तजनले शव जिम्मा लिएर पहाड घर(मिक्लाजुङ)तर्फ लिएर गइसकेका छन् । मृतकहरुको अन्त्येष्टि  बिहिबार गरिने आफन्तजन एवम् सञ्चारकर्मी भूमिका सुब्बा फियाकले जानकारी दिइन् । ती मध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमा अन्त्येष्टि गरिनेछ भने धनराज सेर्माको परिवारको ५ जनाको अन्त्येष्टि सेर्माहरुको बसोबासस्थल रहेको माङ्जाबुङमा गरिनेछ ।

बुधबार वीपी प्रतिष्ठानमा शवको पोष्टमार्टम भइरहँदा मृतकहरुका आफन्तजन तथा छिमेकीहरुले प्रहरी प्रशासनले अनुसन्धानमा लापरवाही गरेको भन्दै शुरुमा शव जिम्मा नलिने अडान लिएका थिए । तर, लामो छलफल पछि शव जिम्मा लिएर अन्त्येष्टि गर्ने र अनुसन्धानको प्रगतिसहित सत्यतथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनमा दबाब दिने सहमति भएको थियो । ‘प्रहरीको अनुसन्धान र भूमिकाप्रति हामीलाई पटक्कै चित्त बुझेको छैन, तर पनि शव जिम्मा लिएर अन्तिम संस्कार गर्ने अनि प्रहरी प्रशासनमा दबाब दिने भनेर छलफलबाट सहमति गयौं’– मृतक बमबहादुरका भतिजा प्रेम फियाकले भने ।

हत्याको कारण डिभोर्स !

आरुबोटेको सामुहिक हत्याको प्रारम्भिक कारण सम्बन्धबिच्छेद (डिभोर्स) देखिएको छ ।

९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

मृत अवस्थामा फेला परेका मानबहादुर धनराज सेर्माका साढुभाइ र बमबहादुरका कान्छा ज्वाइँ रहेको खुल्न आएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजाल भन्छन्– हाम्रो अनुसन्धानमा मानबहादुरले मारेको देखिन्छ, तर पोष्टमार्टम रिपोर्ट नआएसम्म ठोकुवा गर्न मिल्दैन ।

डीआईजी रिजालले मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नरहेको, श्रीमती दुई वर्षदेखि माइतीमा बस्दै आएको, सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । झुण्डिएको ठाउँमा धारिलो हतियार भेटिएको छ, मानबहादुरले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोंकमा उनले सबैको हत्या गरेका हुनसक्छन्– डीआईजी रिजालले भने । PurbanchalDailly.Com

Leave a comment

Your email address will not be published. Required fields are marked *