झापामा ‘मिटर ब्याज’मा ठग्ने गिरोह सक्रिय

झापाको बिर्तामोड–४ का व्यवसायी अनिल अग्रवाल रिङ्कुले विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर फरार भएको घट्ना लगत्तै झापाका अधिकांश स्थानमा मिटर ब्याजको रुपमा रकम ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको छ ।

शहरी क्षेत्र बिर्तामोड, दमक, काँंकरभिट्टा, सुरुङ्गा लगायतका क्षेत्रमा मात्र नभएर ठगी गर्ने गिरोह गाउँ–गाउँमा समेत सक्रिय रहेको स्थानीय तहका उपप्रमुखहरुले बताएका छन् । ठगी धन्दामा महिलाहरु नै सक्रिय रहेको पाइएको बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा(प्रसाई)ले बताइन् । बिर्तामोडमा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले आर्थिक लेनदेनका कारण धेरैको घरबार बिग्रने तथा डिपे्रसनको शिकार समेत बन्ने गरेको पाइएको उल्लेख गरिन् ।

काठमाण्डौं लगायतका विभिन्न शहरहरुबाट आएका गिरोहले स्थानीय ब्यक्तिको प्रयोग गरेर वैधानिक रुपमा ठगी गर्ने गरेको उल्लेख गरिन् । अधिकांश ठगीका घटनामा महिलाहरुको सक्रियता भएको र उनीहरुले महिलालाई नै ठगी गर्ने गरेको उजुरीहरु न्यायिक समितिमा आउन थालेकाले महंगो दर मिटर ब्याजमा रकम लगाउने लोभमा सम्पत्ति नसक्न सुझाव दिइन् । उनले धेरै कमाउने लोभमा नफस्न सबैसँंग आग्रहसमेत गरिन् ।

त्यस्तै कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईले मिटर ब्याजको लोभमा धेरै मानिस घरबार विहीन हुनुपर्ने अवस्थामा पुग्न लागेकाले सचेत रहन आग्रह गरिन् । कसैलाई ऋण दिदाँ वा लिदाँ अनिवार्य रुपमा कानूनी प्रक्रिया पूरा गरेर दिन र लिन उनले सुझाव दिइन् । कनकाई नगरपालिकामा समेत यस्ता ठगीका घटनाहरुको उजुरी आउन थालेको भन्दै उनले पैसा कमाउने लोभमा महंगो ब्याजमा रकम नलगाउन आग्रह गरिन् । आर्थिक कारणले गर्दा नै धेरैको परिवारमा विचलन आउन थालेको भन्दै प्रसाईले यो समस्या विकराल बनेको उल्लेख गरिन् ।

आर्थिक कारणले गर्दा नै धेरै मानिसको विचल्ली हुने अवस्था आइपरेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको धारणा थियो । उनले शहरी क्षेत्रमा संगठित रुपमा ठगी गर्ने गिरोह समस्याको रुपमा विकसित हुँदै गएको भन्दै यस्ता विषयमा प्रहरी प्रशासनलाई चनाखो बन्न आग्रह गरिन् । उनले ठगी गर्ने गिरोहविरुद्ध स्वयम् स्थानीय जनता सजग बन्नु पर्ने बताइन् ।

त्यस्तै बाह्रदशी गाँउपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले महंगो ब्याजमा रकम लिने र फरार हुने घटना गाउँमा समेत आउन थालेको बताइन् । उनले अवैध रुपमा रकम लिने र त्यस लगत्तै फरार हुने घटनाले समस्या निम्तिने गरेको बताइन् ।

सामान्य चिनजानको भरमा कसैको विश्वासमा परेर आर्थिक कारोबार नगर्न उनले स्थानीयलाई सुझाव दिइन् । आर्थिक कारोबार गर्दा बैंकिङ्ग प्रक्रियामार्फत गर्न आफूले गाउँपालिकाका सबैलाई सुझाएको उल्लेख गरिन् ।

त्यस्तै कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले मिटर ब्याजको लोभमा परेर आर्थिक कारोबार गर्दा धेरै समस्या उत्पन्न भएको बताइन् । उनले यो समस्या शहरी क्षेत्रमा धेरै रहेको र पछिल्लो समय ठगी गर्नेहरुले गाउँका सोझासाझा जनतालाई निशाना बनाउन थालेको भन्दै सचेत हुन आग्रह गरिन् ।

लेनदेनको विषय नहेर्ने भन्दै प्रहरीले त्यस्ता विषय नगरपालिका तथा गाउँपालिका पठाउने गरेकाले यस्ता समस्या धेरै आउन थालेको उपप्रमुखहरुको भनाइ छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने गिरोहका कारण करोडौं रकम डुबेपछि समाजमा अपराधको जोखिमसमेत बढेको छ ।

यसैबीच सापटी दिएको पैसा वर्षौंसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायिक समिति, सामुदायिक प्रहरी र कानून व्यवसायी कहाँ धाउन थालेका छन् । धेरै ब्याज पाउने आशा र मीठो बोलीबाट प्रभावित भएर दिएको पैसा फिर्ता नपाएपछि पीडितहरु उजुरी र गुनासो गर्न आउन थालेको स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइ छ ।

मिटर ब्याजको धन्दाले आफन्त, साथीभाइ र परिवारमा विलाप निम्याएको छ । आपसी समझदारीमा बजारमा चलेको भन्दा बढी ब्याज दिने लोभमा कागज पनि नबनाएको र नगद नै बुझाएकाहरु अप्ठ्यारोमा परेका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीको रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रीम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेको बताइएको छ ।

बैंक, वित्तीय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा परेर धेरैजसो महिलाले रकम डुबाउन पुगेका छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर आएको रकम र बैंकमा घरजग्गा धितो राखेर निकालिएको रकमसमेत मिटर ब्याजमा लगाउने गरिएको पाइएको छ ।

यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा महिला नै बढी छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी र घरजग्गाको कारोबार गर्नेहरुले मिटर ब्याजमा ऋण लिने गरेको बताइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर लेनदेन मुद्दाको रुपमा प्रहरी र अदालत पुग्ने गरेका छन् ।

बढ्दो आर्थिक विसंगति र विचलनको समस्या न्यून गर्न समुदायमा आर्थिक कारोबारसम्बन्धी कानूनी सचेतना जरुरी छ । यस विषयमा झापाका सबै स्थानमा सचेतनाको जरुरी रहेको उपप्रमुखहरुको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *