झापामा आत्महत्याको बृद्धी, ३ महिनामा १०८ ले गरे आत्महत्या

२ असार, झापा । झापामा गत फागुन महिनादेखि जेठ अन्तिमसम्म १ सय ८ जनाले आफैले आफैलाई मारेका छन् । तथ्याङक अनुसार आत्महत्याको यो डरलाग्दो अवस्था हो । सचेत जिल्ला भनिएको झापामा आत्महत्याको दर बढ्दै गएको पाइएको छ ।

बिर्तामोडका व्यवसायी दिपक ढकालले आफ्नैे फर्निचर पसलमा झुण्डिएर आत्महत्या गरे । गत हप्ता ढकाल भद्रपुर रोडस्थित विपम फर्निचरमा झुण्डिएको अवस्थामा फेला परे । उनले आत्महत्या गरेको ठाउँबाट प्रहरीले सोसाइट नोट समेत फेला पारेको छ ।

घटनास्थलमा उनले लेखेको नोटमा कुमार भट्टराईका कारण मर्नु परेको उल्लेख गरेका छन् भने घरमा १४ पेज लामो व्यवहारिक समस्या बारे लेखेको कागजात समेत फेला परेको छ । दुईबिचमा आर्थिक कारोवार भएको ढकाल परिवारले जनाएका छन् ।

घटनाको कारण व्यवहारिक लेनदेन देखिएपनि आत्महत्या समस्या समाधानको विकल्प नभएको प्रतिक्रिया आएको छ ।
यस्तै, कनकाई नगरपालिकामा दुई साताअघि शिक्षक पूण्य प्रसाद दाहालले विधालय परिसरमै झुण्डिएर आत्महत्या गरे । उनले पनि सोसाइट नोट लेखेको भेटियो ।

सोसाइट नोटमा उनले स्वास्थ्यको कारण देखाउँदै आत्महत्या गरेको लेखेका थिए । आफ्नो स्वास्थ्यको कारण परिवारलाई दुःख हुने उल्लेख गर्दै उनले आफ्ना अन्य शिक्षक साथीहरुलाई परिवारको दुःख, समस्या बुझिदिन आग्रह गर्दै आत्महत्या गरेका छन् ।

आत्महत्याको क्रममा सोसाईट नोट लेख्ने थोरै मात्रामा छन् । ०७५ फागुन महिनादेखि ०७६ जेठ अन्तिमसम्ममा आत्महत्या गरेका १ सय ८ जनामध्ये दुई जनाले सोसाइट नोट लेखेको कुरा बाहिरिएको छ ।

गएको चार महिनामा ९१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १७ जनाले विष सेवन गरेर आत्महत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख छ । फागुन, चैत, बैशाख र जेठ महिनामा सबैभन्दा बढि जेठ महिनामा आत्महत्या गरेको तथ्याङक छ । फागुनमा २७, चैत २७, बैशाखमा २३ र जेठमा ३१ जनाले आत्महत्या गरेका छन् । विवरण अनुसार औषतमा दैनिक एक जनाले आत्महत्या गरिरहेका छन् ।

यहि विवरणमा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहस्यमय मृत्यू भएका किरण कार्कीढोली पनि समावेश भएको छ । उनको मृत्यू बारे यथार्थ अहिलेसम्म सार्वजनिक भएको छैन ।
आत्महत्याको घटना अधिकतम घरभित्र भएका छन् । केहि रुखमा झुण्डिएका छन् भने केहि होटलमा समेत झुण्डिएर आत्महत्या गरेको विवरण प्राप्त भएको छ । चार महिनामा आत्महत्या गर्ने १ सय ८ जनामध्ये ६२ जना पुरुष छन् भने ४६ जना महिला रहेका छन् ।

यो अवधिमा भएको घटनामा ११ वर्ष देखि ७८ वर्षसम्मका व्यक्तिले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ । झापाको १५ वटा स्थानीय तहको विवरण अनुसार जिल्लाको सबै भन्दा धेरै आत्महत्या दमक नगरपालिकामा भएको छ । दोस्रो बिर्तामोड नगरपालिका र तेस्रोमा भद्रपुर रहेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

प्रहरीले उपलब्ध गराएको विवरण अनुसार भद्रपुर १३, अर्जुनधारा ८, बिर्तामोड १३, कचनकवल ६, हल्दिवारी ७, कनकाई ६, शिवसताक्षी,कमल,गौरादह, झापा ५/५, दमक १७, र बाह्रदशीमा ३ जनाले आत्महत्या गरेका छन्

Leave a comment

Your email address will not be published. Required fields are marked *