रसुवागढीको सुरुङ्गबाट सबै कामदारको सकुशल उद्धार, पहिरो रोकिएन

६ असार, रसुवा । रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७ बजेसम्म ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भागेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक नलागेको र उद्धार पछि आफ्नो क्वाटरमा आराम गरी रहेको बताउनुभयो ।
उहाँले आफू सहितको टोली घटनास्थलमा रहेको र सुख्खा पहिरो खस्ने क्रम जारी रहेको बताउनुभयो । बाहिरी भागमा पहिरो खसेकाले सुरुङ्गमा धेरै ठूलो भौतिक क्षति नभएको समेत फोनमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र बिहीबार राति सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *