मदिरा खुवाएर बलात्कार

६ असार, विराटनगर । जुस भनी झुक्याएर मदिरा खुवाई १९ वर्षीया एक युवतीलाई बलात्कार गरिएको छ ।

मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा गत जेठ ३१ गते पथरीशनिश्चरेकी १९ वर्षीय युवतीलाई जुस भनी झुक्याएर मदिरा खुवाई बलात्कार गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा वाइन खुवाएर युवतीलाई बलात्कार गरेको खुलेको छ । बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बेलबारीले तीन युवालाई पक्राउ गरेको छ ।

किशोरीलाई बलत्कार गर्नेसहित अन्य दुई जना सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका बेलबारीले जनाएको छ । बलात्कारको आरोपमा गोरखाको पृथ्वीनगर–७ का ३२ वर्षीय विश्वास कट्टेललाई नियन्त्रणमा लिएको हो । बलात्कार गर्न वातावरण तयार गरिदिने २२ वर्षीया अञ्जना थापा र सुन्दरहरैचा नगरपालिका–१२ का सञ्जीवकुमार शङ्करलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार गर्ने वातावरण थापाले तयार पारिदिएको प्रहरी अनुसन्धानमा खुलेको छ । अञ्जनाले प्रेमी सञ्जीवकुमार शङ्करसँग मिलेर बलात्कारको वातावरण तयार गरिदिएका हुन् । वातावरण तयार पारिदिने थापा बलात्कृत युवतीकी आफन्त पर्छिन् ।

प्रहरीका अनुसार विश्वास सञ्जीवसँग नियमित सम्पर्कमा विराटचोकमा रहेर जग्गाको कारोबार गर्दै आएका व्यक्ति हुन् । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी असार १ गते जबर्जस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाएको छ । प्रहरीले विश्वासलाई घटनामा संलग्न मुख्य अभियुक्त, अञ्जना र उनका प्रेमी सञ्जीवलाई भने घटनाको मुख्य योजनाकारका रूपमा अनुसन्धान गरिरहेको छ ।

‘दुवै जनाले सल्लाह गरेर सञ्जीवकी प्रेमिका अञ्जनामार्फत् युवती झिकाएको देखिन्छ’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘त्यस क्रममा अञ्जनाले पारिवारिक नाताभित्रकी बहिनी पर्ने एक युवतीलाई साथमा लिएर विराटचोक आएको देखियो ।’ त्यसपछि उनीहरूले सँगै फिल्म हेरेर केराबारी पुगेको देखिन्छ ।

पीडित युवतीले जुस भन्दै तरल पदार्थ खुवाएको केही समयपछि आफूले केही पनि थाहा नपाएको र बिहान होसमा आउँदा मात्रै आफू बलात्कृत भएको थाहा पाएको प्रहरीलाई बयान दिएकी छन् । इप्रका बेलबारीमा आएर घटना उल्लेख गर्दै पीडितले बलात्कारमा संलग्न र आफूमाथि बलात्कारको योजना बनाउनेसहित तीन जनाविरुद्ध जाहेरी दिएको बेलबारी प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *