आमाको हत्यामा छोरीकै संलग्नता : अवैध सम्बन्ध लुकाउन १२ लाख दिएर आमाको हत्या

१६ असार, काठमाडौं । जीवन साथीको अनुपस्थितिमा जैविक आवश्यकताले जन्माएको बाध्यता वा जीवन साथीसँगको असन्तुष्टि ? या, नयाँ यौन पार्टनरको खोजी ? यस्तै बाहानामा मानिसहरु विवाहेत्तर सम्वन्धमा रमाउन पुग्छन् । तर नेपाली समाजमा यस्तो सम्बन्धलाई अवैधानिक र अनैतिक मानिन्छ ।

अनि, त्यही अवैधानिक र अनैतिक सम्बन्ध लुकाउने नाममा मानिसहरु अपराध कर्मतिर लाग्छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ईश्वरी भट्टराईलाई पनि यही विवाहेत्तर सम्बन्धले ‘हत्यारा’ बनाएको छ, त्यो पनि आफूलाई जन्म दिने आमाको ।

२७ वर्षीया ईश्वरीले सोनाम थापा मगरसँग बिहे गरेका थिए । नौ वर्षअघि बैबाहिक सम्बन्धमा बाँधिएका उनीहरुको एक छोरा पनि छ । घरगृहस्थी चलेकै थियो ।

ईश्वरी गार्मेट कारखानामा काम पनि गरिन् । त्यही क्रममा सिरहाका मोहमद नौसादसँग नजिकिइन् । उनीहरुको सम्बन्ध यति घनिष्ठ भयो कि गार्मेन्टको काम छोडेपछि पनि नौसाद बाँसबारीस्थित ईश्वरीको घरसम्मै आउन थाले ।

सोनामा एयरपोर्ट अगाडि होटल गर्थे, त्यसले पनि नौसादलाई ईश्वरीको घरसम्म आउन सहज भयो होला ।

ईश्वरीकी आमा साबित्री थापा छोरीज्वाइँ कहाँ आइरहन्थिन् । त्यही क्रममा उनले छोरीको विवाहेत्तर सम्बन्धबारे थाहा पाइन् । छोरीको घरबार भाँडिने देखेपछि उनले ज्वाइँ सोनाम थापा मगरलाई सबै कुरा भनिदिने भन्दै सचेत गराइन् । आफ्नी छोरीलाई छाड्न र विदेश जान भन्दै सावित्रीले नौसादलाई १ लाख रुपैयाँ पनि दिइन् । नौसाद ९ जेठमा यूएई पनि पुगेका थिए तर, अर्कै योजना बन्यो ।

विदेशमा हत्या योजना

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार यूएई पुगे लगत्तै सामाजिक सञ्जालमार्फत दुई जनाबीच कुराकानी हुनथाल्यो । उनीहरु विवाह गर्न चाहन्थे तर, त्यसका लागि आमा तगारो बनेको माने ।

‘आमा रहुञ्जेल विवाह हुन नसक्ने निष्कर्ष निकालेर दुई जनाले हत्याको योजना बनाएको देखिन्छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले अनलाइनखबरसँग भने ।

नौसाद एक्लैले हत्या गर्न नसक्ने बताएपछि भारतबाट दुई जना कन्ट्राक्ट किलर प्रयोग गर्ने उपाय निकाले । नौसाद १० असारमा सुटुक्क यूएईबाट फर्किए । कन्ट्राक्ट किलर खोज्न १२ गते भारततिर लागे । अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाई लिएर १४ गते नेपाल आए ।

त्यतिन्जेल ईश्वरीले सीम कार्डको जोहो गरिसकेकी थिइन् । ‘दिदीको नागरिकताबाट सीम कार्ड निकालेर पहिल्यै दिएकी रहिछिन्’, साबित्री हत्याको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘नेपाल आएपछि आमाको हत्या नहुञ्जेल भेटघाट र कुराकानी पनि नगर्ने योजना रहेछ ।’

हत्यामा तीन जनाको संलग्नता

ईश्वरीकै संलग्नतामा सावित्रीको हत्या गर्ने योजना बनेकाले उनीहरुलाई सूचनाको कुनै अभाव भएन ।

घटना घटाउने दिन ईश्वरी घरमा नबस्ने योजना भएकाले उनी आइतबार विहानै दिदीकहाँ जान्छु भन्दै हिँडिन् । सोनाम पनि होटलतिर लागे । त्यही मौकामा तीन जना घरमा पुगेको प्रहरी अनुसन्धानले खाएको छ । सावित्राले नौसादलाई चिनिन् ,  तँ किन आएको भन्दै गराइन् । यो सुनेकी छिमेकी पूजा राईले के भयो आमा भनेर सोधेकी पनि थिइन् । तर उनीहले ‘केही होइन, आफन्त नै हो’ भने ।

जेठ २ गतेमात्र यो परिवार त्यहाँ आएको थियो । त्यसैले आफन्त भनेपछि पूजा आफ्नो कामतिर लागे । केहीबेर छिमेकी फेरि सावित्रीको घरमा गइन्, उनी किचनमा काम गरिरहेकी थिइन् भने बच्चा भुइँमा थिए ।

पूजाले बच्चा स्कुल लैजान ढिला भयो भनेपछि सावित्री नातीलालाई ठीक पार्न लागिन् । उनी पनि आफ्नो काममा लागिन् । तर केही घन्टामा त सावित्रीको हत्या भएको खबर सुनेको छिमेकी पूजाले बताइन् ।

आफूले मुख थुनेको अर्जुनले हात समाएको र रहिशले घाँटी रेटेको हत्या गरेको बयान नौसादले दिएका छन् । घटनाको प्रयोग भएको चक्कु अर्जुन र रहिशले नै चक्कु ल्याएका थिए ।

घटनापछि भागेर धादिङको गजुरी पुगेका नौसाद साँझ ७ बजे प्रहरी फन्दामा परे । लगत्तै, सावित्रीको हत्या योजनामा उनकै छोरी ईश्वरीको संलग्नता खुल्यो । उनैले १२ लाखमा दुई जना व्यक्ति हत्यामा खटाइएको पनि खुलाइदिए ।

प्रेमी प्रमिकाले भाडामा प्रयोग गरेका दुई अपराधी पनि भागेर सीमा काट्ने तयारीमा थिए । तर, अपराध महाशाखाको प्राविधिक विश्लेषणका आधारमा उनीहरु मकवानपुरमा देखिए र सोमबार बिहान पक्राउ परे । उनीहरुको साथबाट घटनामा प्रयोग भएको चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार नैसाद पक्राउ पर्जुअघिसम्म ईश्वरीले आमाको हत्या भएको भन्दै बिलौना मात्र गरेकी थिइनन्, हत्यारा पक्राउ गर्न माग गर्दै आएकी थिइन् । तर नौसाद पक्राउ परेपछि उनले आफ्नो अपराधकर्म स्वीकार गरेका छन् ।

हत्यापछि रकम दिने समझदारी

अनुसन्धानअधिकृतका अनुसार कन्ट्राक्ट किलरले नौसादसँग मोटो रकम माग गरेका थिए । तर, ईश्वरीले त्यसको चिन्ता नगर्न भनेको नौसादले बताएका छन् । ‘काम फत्ते भएपछि पैसा दिने कुरा भएको थियो’, उनले प्रहरीसँग भनेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *