आज कृष्ण जन्माष्टमी मुलुकभर धुमधामसाथ मनाइदै (पाटन कृष्णमन्दिर फोटोफिचर)

अर्पित राई

१६ भाद्र, काठमाडौं । आज कृष्ण जन्मअष्ठमी, प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइदै छ ।
भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरीन्छ ।

शास्त्रमा वर्णन गरिएअनुसार मामा कंश लगायत दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

श्रीकृष्णा जन्माष्टमी हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरीन्छ ।

यसै पर्वको अवसरमा ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिरलगायत देशैभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भिड लग्नेगर्छ । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका छन् ।

कृष्ण मन्दिरमा बिहानैदेखी कृष्णको दर्शन गर्न आएका मनोहर तिवारी कृष्णले गितामा जिवन कसरी चल्छ भन्नेबारे ज्ञान दिएको र कृष्णले देखाएको मार्गमा हिडे जिवन सफल हुने बताउछन ।

हिन्दूहरूको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता कुरुक्षेत्रमा कौरबहरूसंगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिन स्वयं कृष्णले बोलेका उपदेश मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको जनविश्वास छ ।

सोहि विश्वास र आस्था भएरै पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विहानै देखीे लाइनमा बसेर पुजा गर्न आएको विन्दा बुढाथोकी बताउछन ।
श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको परमपरागत विश्वासका आधारमा मुलुक भर विभिन्न धार्मिक संघ संस्थाहरूबाट श्रीकृष्णको झाकीसहित शोभायात्रा निकालिने चलन छ ।

अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *