बझाङमा भूकम्पबाट पूर्णरुपमा क्षति भएका पीडित घरपरिवारलाई सरकारले तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने

बझाङमा भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई सरकारले तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।

यस्तै आज भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री प्रचन्डले राहत स्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ ।

राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।

भूकम्पले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने प्रतिबद्धता जनाएको छ ।

सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदिमा क्षति पुगेका संरचनाहरूको पुनः निर्माण गरिने पनि बताइएको छ ।भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।यस्तै भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्‍यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने भएको छ ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *