कार्यकर्तालाई रिहाईको माग गर्दै आज मेची राजमार्गको यातायात ठप्प

कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज बुधबार मेची राजमार्गको यातायात ठप्प भएको छ ।

आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी आज र भोलिका लागि मेची राजमार्ग बन्द आह्वान गरिएको हो । बन्दका कारण बिहानैदेखि मेची राजमार्गमा छोटो र लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् । पहिचानवादी पाँच संस्थाले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन् । आन्दोलनरत समूह ‘पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामांकन समिति’ अध्यक्ष डकेन्द्रसिंह थेगिमले दुुई चक्के सवारी साधन भने नरोकिएको बताए ।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दैै गत मंसिर ३ र पुस १ गते बन्द आह्वान गरिएको थियो । त्यसक्रममा मंसिर ३० मा इलामको रोङ गाउँपालिका–४ स्थित मेची राजमार्गमा मे १ च ११४० नम्बरको पिकअप आगजनी गरिएको थियो । झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षे अञ्जन राई बुलेट किरातीलाई पक्रेको छ ।

तर, आन्दोलनरत समूहले पिकअपमा आफूहरूले आगजनी नगरेको भएपनि राईलाई झुटो मुद्दामा पक्राउ गरिएको दाबी गरेको छ । बन्द आह्वानकर्ताले जारी गरेको विज्ञप्तिमा यातायात बन्दका बेला गाडीमा आगजनीको गतिविधि आफूहरूले नगरेको र नगर्ने दाबी गरिएको छ । उनीहरूले पक्राउ राईलाई रिहा नगरेसम्म विरोध जारी रहने चेतावनी दिएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *