छ महिनादेखि अस्पतालमा बस्न बाध्य इलाम १०,का दुर्गाप्रसाद तिम्सिना डिस्चार्ज

उपचारमा भएको खर्च रकम तिर्न नसकेर छ महिनादेखि अस्पतालमा बस्न बाध्य इलामको माई नगरपालिका १०, लुम्बाकका ६४ वर्षे दुर्गाप्रसाद तिम्सिना डिस्चार्ज भएका छन् ।

उनलाई चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रीले उपचारमा भएको खर्च नलिई डिस्चार्ज गरेको हो ।बिनासुनुवाई भारतीय जेलमा ४० वर्ष बिताएपछि घर ल्याइएका दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिनदेखि यो अस्पतालमा थिए । उनी निको भएको छ महिना भइसकेपनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार रुपैयाँ नहुँदा डिस्चार्ज हुन  सकेका थिएनन् ।

उनी निको भएर पनि अस्पतालमा बस्न बाध्य भएको समाचार मिडियामा आएको थियो । त्यसपछि अस्पतालले उनलाई बुझाउन बाँकी रकम नलिई डिस्चार्ज गरेको अस्पताल अध्यक्ष डा.गिरिराज भन्टानाले बताए । ‘मिडियामा समाचार नै आएपछि हामीले पनि उहाँलाई डिस्चार्ज गरेका हौं,’ डा.भन्टानाले भने, ‘हामीले सकेको उपचार गरेका छौं, उहाँ (दुर्गाप्रसाद) सम्भव हुनेजति निको भइसक्नुभएको छ ।’

छ महिनाअघि दुर्गाप्रसाद सशुल्क शय्यामा रहेपनि त्यसयता निःशुल्क शय्यामै रहेको उनले बताए । ‘तिम्सिनाले तिर्नुपर्ने बिल त थियो तर हामीले समाचारमा उनको बारेमा कुरा आइसकेपछि अब शुल्क नलिने निर्णय गरी डिस्चार्ज गरेका हौं,’ डा.भन्टानाले भने, ‘अब पनि उहाँको स्वास्थ्य राम्रो केयर होस् भन्ने आशा छ ।’

डा.भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको भन्दै उनमा ‘सिजिफोर्नियाँ’ देखिएको बताएका थिए । ‘शतप्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’ उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताए ।

छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएपनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका थिए । दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले छ महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको बताएका थिए ।

‘ठूलोबुबाको उपचारमा त्यहाँ सात लाख १५ हजार रुपैयाँ खर्च भएको थियो,’ गोपालले भने, ‘तीन लाख रुपैयाँ त बुझायौं, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै हुनुहुन्थ्यो, अहिले अस्पतालले बाँकी रकम नलिई डिस्चार्ज गरेकामा खुसी लागेको छ ।’ परिवारको आर्थिक अवस्था कमजोर भएका कारण दुर्गाप्रसादलाई यो अस्पतालसम्म लैजान इलामस्थित मानवअधिकार मञ्चले समेत सहयोग गरेको थियो ।

डिस्चार्जपछि दुर्गाप्रसादलाई मकवानपुरस्थित मानवसेवा आश्रम लगिएको छ । उनी अब त्यही आश्रममा बस्नेछन् । आश्रमको टोलीले उनलाई लगेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *