अलैँचीको भाउ चार वर्षयताकै उच्च

अलैँचीको भाउ तेब्बरले बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री भइरहेको छ ।

अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि  जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुनेभयो ।गएको वर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको व्यवसायी जीवन पाण्डेले बताउनुभयो । गएको वर्ष याममा प्रतिमन २८ हजार रुपैयाँसम्म भाउ पाइएको थियो, अहिले राम्रो अलैँची प्रतिमन ८५ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ ।

किसान तथा व्यापारीसँग मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उहाँले बताउनुभयो । रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् ।सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाउनुभएको छ । वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक आठरदश लाख रुपैयाँ बचत हराएको छैनु, उहाँले भन्नुभयो । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् ।

प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताउनुभयो । जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा यो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्याङ्क छ ।

कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गएको आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो । गएको वर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो । उहाँले भन्नुभयो, अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ । गएको वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उहाँले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *