गौशाला २६ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि अनुसन्धान शुरु

सन्दीप लामिछानेबाट बलात्कार पीडित युवती गौशाला २६ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

बलात्कार पीडित युवतीको नाम प्रहरीले गौशाला २६ राखेर अनुसन्धान अघि बढाएको थियो । अहिले केही व्यक्तिले गौशाला २६ को परिचय र तस्बिर सामाजिक सञ्जालमा राखेर उनीमाथि गालीगलौज र नकारात्मक टिप्पणी गरिरहेका छन् । यस्ता व्यक्तिविरुद्ध गौशाला २६ को तर्फबाट उजुरी परेपछि प्रहरीको साइबर ब्युरोले परिचय सार्वजनिक गर्ने व्यक्तिहरूको खोजी थालेको छ ।

यो विषयमा केन्द्रीय कार्यालयको समेत ध्यानाकर्षण भएको नेपाल प्रहरीले जनाएको छ । अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने व्यवस्था छ ।

दोषीलाई पक्राउ गरेर बलात्कार पीडितको परिचय र तस्बिर सार्वजनिक गर्न नहुने कानुन र गालीगलौजको कानुन आकर्षित गरेर मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । बलात्कार मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाण्डाैले हिजो आठ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *