इलाममा जारी प्रथम इलाम गोल्डकपमा पाँचथर फुटबल क्लब सेमिफाइनलमा प्रवेश
इलाममा जारी प्रथम इलाम गोल्डकपमा पाँचथर फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बुटवल फुटबल क्लब लुम्बिनीलाई टाइब्रेकरमा ४ ,३ गोल अन्तरले पराजित गर्दै पाँचथरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।निर्धारित समयमा दुवै टिमबाट २ ,२ गोलको बराबरी भएपछि टाइब्रेकरको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा पाँचथरका अशोक खवास, सुनिल खड्का, मञ्जिल खड्का र रोमन भुजेलले जाली चुमाए । सिमान्त थापाको प्रहार बुटवलका गोलकिपर मोहम्मद मोस्सीले बचाउ गरेपनि जितका लागि पर्याप्त भएन ।
बुटवलका चन्दन दास, विकास लामा र विदेशी खेलाडी मार्टिनले गोल गरे । जनक कोइरालाको प्रहार पाँचथरका गोलकिपर रोशन नेपालले बचाउ गरे भने अनिल महर्जनको प्रहार बाहिरिएको थियो ।खेलको पाँचौ मिनेटमा नै पाँचथरका कप्तान रोशन आङदेम्बेले हेडमार्फत पहिलो गोल गरेर अग्रता लिएपनि ३५ औं मिनेटमा बुटवलका तर्फबाट विदेशी खेलाडी स्टेफेन न्यामले गोल गरी बराबरीमा ल्याए । ३८ औं मिनेटमा पुन : पाँचथरका सिमान्त थापाले गोल गरी अग्रता दिलाए । पाँचथरले पाएको कर्नरको अवसरलाई सदुपयोग गर्दै थापाले जाली चुमाए ।
पहिलो हाफमा १ गोल अन्तरले पछि परेको बुटवलले दोस्रो हाफमा खेल सुधार गर्दै ५१ औं मिनेटमा बराबरीमा ल्यायो । पाँचथरका खेलाडीले पाउल बनाएपछि पाएको फ्रिकिकको अवसलाई सदुपयोग गर्दै बुटवलका विदेशी खेलाडी मार्टिनले गोल गरे ।जितसँगै पाँचथरले अब फाइनल प्रवेशका लागि विहीबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँगको भेट पक्का गरेको हो । झापाले दोस्रो क्वाटर फइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई ३ ,०गोल
अन्तरमा पराजित गर्दै समिफाइनल प्रवेश गरिसकेको छ ।खेलको म्यान अफ द म्याच विजेता टिम पाँचथरका कप्तान रोशन आङदेम्बे घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।भोलि (बुधबार )पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम र न्युरोड टिम (एनआरटी) बीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।
रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार पाउनेछन् ।
गोल्डकपको फाइनल माघ १३ गते हुनेछ ।