इलामको रोङ गाउँपालिकामा यही माघ २७ देखि २९ सम्म कला–साहित्य महोत्सव हुने

कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ । इलामस्थित चेतना नाट्यसमूह र झापाको ट्रेक–८५८६ को समन्वयमा वडाले यही माघ २७ देखि २९ सम्म वडामा महोत्सव आयोजना गर्न लागेको हो ।

रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवका विषयवस्तु पनि स्थानीय विषयसँगै सम्बन्धित रहने वडामै आयोजित पत्रकार भेटघाटमा वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार फरक किसिमले कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा वडाले प्रयास गरेको हो । ‘यो वडा देशकै लोपोन्मुख लेप्चा समुदायको थातथलो रहेको ठाउँ पनि हो,’ उनले भने, ‘तामाङ, राई, लिम्बू, राई, नेवारलगायत विभिन्न जाति र संस्कृतिका झाँकीसमेत प्रदर्शन गरिने छन् ।

’महोत्सवको उद्घाटन माघ २७ गते पर्यटकीय झन्डीडाँडामा गरिने छ । उद्घाटनपछि त्यसै दिन साहित्यकार राजन मुकारुङले मुख्य वक्ताका रूपमा रैथाने ज्ञानको आवश्यकता’ विषयमा मन्तव्य राख्नेछन् । ‘कृषि ः सम्भावना, समस्या र सीमा’ विषयमा डा .योगेन्द्रमान श्रेष्ठसहित थप दुई वक्ताबीच बहस हुनेछ । ‘कला–साहित्यभित्र गाउँको चित्रण’ विषयमा हाङयुग अज्ञात र अरू दुई वक्ताबीचको बहस पनि पहिलो दिन नै हुनेछ ।

स्थानीय विषयमै नाटकको तयारी गरिरहेका निर्देशक अन्वेश थुलुङले अहिले जसले पनि ठूला–ठूला भौतिक पूर्वाधारलाई मात्रै ‘विकास’को नाम दिएकाले गाउँको कला–संस्कृति संरक्षणमा चुनौती रहेको बताए । ‘कला–संस्कृति भनेकै समाजलाई बचाएर राख्ने माध्यम हो,’ उनले भने, ‘गाउँ, कुनाकन्दराका सयौं–हजारौं कथा अझै बाहिर आउन सकेका छैनन्, तिनलाई पर्यटनसँग जोड्न पनि प्रचारको आवश्यकता छ ।’

महोत्सवको आर्थिक व्यवस्थापन भइरहेको वडाले जनाएको छ । अहिले वडामा महोत्सवका लागि बजेट व्यवस्था नभएपनि विभिन्न सहयोगीबाट यसको खर्च व्यवस्थापन गर्ने वडाध्यक्ष राईले बताए । ‘हामी खर्च गर्नमा सधैं पारदर्शी छौं, त्यसैले दाताले हामीलाई विश्वास गर्नुभएको छ,’ उनले भने, ‘यसमा करिब चार लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *