अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० बुधबारदेखि शुरु भएको छ ।

प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा अर्जुनधारा ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरेका थिए ।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्सअन्तरगत विभिन्न विधा, मार्सलआर्टस्मा उसु, कराते र तेक्वान्दो, कबड्डी र भलिबल खेल सञ्चालन हुने बताइएको छ । उक्त प्रतियोगितामा सामुदायिकतर्फ ९ वटा मावि र संस्थागततर्फ १४ वटा मावि गरी २३ वटा विद्यालयको सहभागिता रहेको छ ।

अर्जुनधारा नगरपालिकाका कार्यवाहक प्रमुख नरेन्द्रकुमार श्रेष्ठ “सिद्धार्थ”को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडीद्वय राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुका जवेगु र गतवर्ष सम्पन्न १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रियस्तरको प्रतियोगिताका स्वर्ण पदक विजेता राजिप ढुंगाना रहेका छन् ।उनीहरु दुवैलाई जनही नगद पुरस्कार १० हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै सोही प्रतियोगिताको झापा जिल्लास्तरीय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल ३६ जना खेलाडीलाई प्रशंसा पत्रसहित ट्रफी प्रदान गरिएको थियो ।

आयोजक समितिका सदस्य पूण्यप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, शनिश्चरे मावि व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहाल, कालिस्थान माविका प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *