बाह्रदशी–५ स्थित राष्ट्रियस्तरको बृहत जनवादी गीति कार्यक्रम हुने

झापाको बाह्रदशी गाउँपालिकामा आगामी फागुन २१ गते ‘बृहत जनवादी गीति कार्यक्रम–२०८०’ हुने भएको छ ।

बाह्रदशी–५ स्थित सहिद प्रजापति स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रियस्तरको बृहत जनवादी गीति कार्यक्रम हुने भएको हो । जनवादी गीत–संगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले जानकारी दिएको छ ।वरिष्ठ जनवादी गायक राजन राईको साथमा झापामा पहिलो पटक आगामी कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।

सहिद प्रजापति सापकोटालाई राष्ट्रिय सहिद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको दिगो विकास र संरक्षण गर्ने, संस्थाको जग्गा घेराबारा तथा बहुउपयोगी सामुदायिक भवन निर्माणको कार्यलाई सम्पन्न गर्न, सहभागिता र सुनिश्चित्तता गर्ने लगायतका उद्देश्य राखेर जनवादी कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष सापकोटाले बताउनुभयो ।तत्कालीन पञ्चायतकालमा बेला गाइएका सदाबहार जनवादी गीतहरुलाई बाध्यबाधनका साथमा प्रत्यक्ष प्रस्तुति दिइने जनाइएको छ । कार्यक्रमका लागि अनुमानित खर्च तीन लाख ५० हजार आयोजकको अनुमान छ ।

सनलाइट म्युजिक स्टुडियो बिर्तामोडको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङसहित स्थानीय कलाकारको प्रस्तुति दिनेछन् । सोही कार्यक्रममा जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गर्ने, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गर्ने प्रतिष्ठानले जनाएको छ ।पत्रकार सम्मेलनमा बरिष्ठ जनवादी गायक राजन राईले तत्कालीन अवस्थामा बोल्न नपाइने भएकाले गीत–संगीत, साहित्यिक रचनामार्फत् परिवर्तनका पक्षमा आवाज उठाइने गरेको बताउनुभयो । ‘जनतालाई सुसूचित गर्न जनवादी गीत गाइन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिले व्यवस्था परिवर्तन भएपछि आधुनिकताले जनवादी गीत–संगीत ओझेलमा परेको छ ।’

पत्रकार सम्मेलनमा सनलाइट संगीत विद्यालयकी हेमा योञ्जन भण्डारी, प्रतिष्ठानका गायक गोपाल योङहाङ, भूपाल शिवाकोटी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण अनिल सापकोटालले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *