स्वतन्त्र व्यवसायी प्यालनको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन
आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन लक्षित चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।
आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघ लक्षित यहाँका व्यवसायीले चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । यसै सन्दर्भमा पाँच दलीय सम्मिलित स्वतन्त्र व्यवसायी प्यालनको निर्वाचन सम्पर्क कार्यालय सोमवार उद्घाटन भएको छ । कार्यालयको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डामलमियाले उद्घाटन गर्नुभयो । उहाँले समग्र व्यवसायीको हितका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।
त्यस्तै, स्वतन्त्र व्यवसायी प्यालनबाट अध्यक्षका उम्मेद्वार अर्जुन मैनालीले नयाँ, पुराना, साना–ठूला सबै व्यवसायीको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले बिर्तामोड उद्योग बाणिज्य संघलाई व्यवसायीको पक्षमा काम गर्ने थलोका रुपमा विकास गर्न लागिपर्ने बताउनुभयो । निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी सुवास भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
नेकपा (एमाले), नेकपा ,माओवादी केन्द्र, राप्रपा, जसपा र स्वतन्त्र आवद्ध व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेलको नाम टुङ्गो लागिसकेको छ भने केही दिनभित्रै सबै पदाधिकारीको नाम टुंगो लगाउने तयारी भइरहेको छ ।
प्यानलमा आबद्ध उम्मेदवारहरु सदस्यता नविकरण तथा मतदातासँगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासँग भेटघाट तथा सदस्यता नविकरण गराउने काम भइरहेको व्यवसायी युवराज निरौलाले जानकारी दिनुभयो ।