श्रीमद्भागवत सप्ताह महापुराणमा २२ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

इलाम नगरपालिका २, सुम्बेकस्थित महाकालेश्वर शिव मन्दिर तथा परोपकार संस्थामा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह महापुराणमा २२ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ ।

महापुराण आयोजक समितिका आर्थिक संयोजक तथा निवर्तमान वडाध्यक्ष नारद लम्सालले भक्तजन र सहयोगी दाताबाट यो सहयोग संकलन भएको जानकारी दिए । आयोजक समिति अध्यक्ष कोषराज लम्सालको अध्यक्षतामा तथा वडा २ अध्यक्ष गिरिराज रिजालको प्रमुख आतिथ्यमा महापुराण सम्पन्न गरियो । जिल्ला समन्वय समिति सदस्य शेरबहादुर खालिङ, वडा सदस्यहरू मीना दाहाल गड्तौला, राजेन देवान, सरिता दियालीलगायतको सहभागितामा यज्ञ होमादीसहित महापुराण समापन गरिएको हो ।

त्यस अवसरमा शिव मन्दिर तथा परोपकार संस्थालाई नगद तथा जिन्सी सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मानपत्र प्रदान गरियो । गुरुहरू कृष्णप्रसाद घिमिरे, विष्णुप्रसाद भट्टराई, नारायण नेपाललगायत विभिन्न पण्डित–पुरोहितले वेद, रुद्री, चण्डी, गीतालगायत पाठसहित होमादी गरेका छन् ।जातीय, धार्मिक र सांस्कृतिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजित समारोहमा सबै समुदायको उत्तिकै सहभागिता रहेको आयोजक समितिले जनाएको छ । साथै, टाढा–टाढाबाट धर्मानुरागीको बाक्लो उपस्थिति थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *