श्रीमतीसहित तीन जनाको हत्यापछि आफैंले पनि गरे आत्महत्या

काठमाडौंको स्वयम्भूमा एक पुरूषले श्रीमतीसहित तीन जनाको हत्यापछि आफैंले पनि आत्महत्या गरेका छन्।

बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परे। राजधानीमा एकै परिवारका तीन जनाको शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको दुबै टोली खटियो।अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरकै नेतृत्वमा टोली खटिएको थियो। कोठामा पुग्‍दा डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया नातिनी शिवानी श्रेष्ठ मृत फेला परे। शिवानी इश्वरीको पूर्व पतिबाट जन्मिएका छोराका छोरी हुन्। उनीहरूमाथि घरेलु हतियार प्रहार भएको पाइएको थियो ।

एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरूको हत्या नै भएको हो भन्नेमा प्रहरी अधिकृतहरू विश्वस्त थिए। तर घटनास्थलमा श्रीमान फेला परेका थिएनन्। घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु आफैंले घटना गरेपछि आफ्ना सालोलाई सम्‍पर्क गरेका थिए।बिहान घटना भइसकेपछि मैले सबैलाई मारेँ, अब म पनि मर्छु भनेर हिँडेका रहेछन्,’ उनले भने, ‘सालोलाई फोनमा त्यस्तो भनेपछि प्रहरीलाई खबर भएको हो।’

त्यसरी मर्न जाँदैछु भन्ने खबर पाएपछि प्रहरीले श्रीमानलाई खोजी गरेको थियो। एसएसपी राठौरसहितको टोली सर्चका लागि खटिएको उनले बताए। त्यसक्रममा नागार्जुन नगरपालिका(३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी पनि मृत फेला परेको एसपी रेग्मीले पुष्टि गरेका छन्। उक्त स्थान उनको डेराबाट करिब दुई किलोमिटर पर फेला परेको छ। यसरी एकै परिवारका चारै जना मृत फेला परे पनि घटनाको कारणबारे भने खुलिसकेको छैन। त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *