समाजमा हटेन अझै अन्धविश्वास र विभेद सानो जातसँग गएको भन्दै माइतीपक्षबाट

काठमाण्डौं । जातका आधारमा छुवाछुत र भेदभाव हिन्दु धर्मभित्र मात्रै हुन्छ, अझ खस–आर्य र दलित समुदायबीच छोइछिटो हाल्ने परम्पराले नेपाली समाजमा निकै जटिल समस्या निम्त्याउँदै आएको छ ।
मन मिलेपछि प्रेममा जातले नछेक्नु पर्ने हो तर पूर्वी नेपालको झापा जिल्लाका एक जोडी अहिले जात फरक भएकै कारण बिचल्लीमा परेका छन् ।

झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर २ जयपुरका २१ वर्षका लोकेश दर्जी र झापाकै कन्काइ नगरपालिका वडा नम्बर ७ की १९ वर्षकी देवका बिमली सिटौला यतिबेला राजधानीमा शान्ति सुरक्षाको माग गर्दै भौतारिरहेका छन् ।
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग–२, परिच्छेद–१० मा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको व्यवस्था गरिएको छ ।

सो परिच्छेदको दफा १६० देखि १६७ सम्म जातका आधारमा कसैले कसैलाई भेदभाव गर्न नहुने र गरेको खण्डमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ३० हजारदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
नेपालमा कानुन भन्दा दरिलो धर्म भईरहेको छ । कानुन कार्यान्वयन गर्ने स्थानमा पीडक वर्गका मानिसहरुमात्र भएकोले कानून प्रभावकारी रुपमा लागू हुन सकेको छैन । हिन्दु धर्मभित्र दलित बनाइएका जातिहरु यहि भेदभाव र अपमानका कारण अत्याधिक धर्म परिवर्तन गरिरहेका छन् त्यो उनीहरुको बाध्यता बनिरहेको छ ।
देवका बिमली सिटौला बाहुन जातकी छोरी हुन भने लोकेश दर्जी परियार समुदायका दलित हुन । भदौ १ अघिको कानून अनुसार उनीहरु विवाह गर्न योग्य उमेरका हुन् तर हाल आएको कानून अनुसार केटा वा केटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्छ त्यसअर्थमा देवकाको उमेर विवाह गर्न अझै १ वर्ष पर्खनु पर्दछ । तर उनीहरुबीच ३ वर्षदेखि प्रेमको चक्कर चलिरहेको थियो ।

केहि हप्ता अघि देवकाकी आमाले लोकेशसँग मोबाइलमा कुराकानी गरेको थाह पाइन् त्यसपछि आमाले उनलाई सानो जातको केटासँग लागेर बर्बाद गरेको भन्दै मोबाइल फोन नै फुटाई दिइन् । त्यसपछि उनलाई तत्कालै जातको केटा खोजेर जर्बजस्ती विवाह गरिदिने घर सल्लाह भएपछि लोकेशलाई खोजेर उनी भागेर विवाह गर्ने निर्णयमा पुगिन् । तर देवकाका माइती पक्षबाट प्रहरीमा उजुरी पर्यो । प्रहरीले थानामा बोलाए पछि लोकेश र देवका पुगे । प्रहरीले नै देवकालाई लोकेशबाट छुटाई आफ्नो जातको केटासँग विवाह गर्नु भन्दै कुटपिट गरी धम्कि दियो ।

३ वर्षसम्मको प्रेमको गहिरो सम्बन्धका कारण देवकाले लोकेशलाई कुनै हालतमा नछोड्ने बताए पछि प्रहरी चौकीमा नै देवकालाई छोडेर हिडे देवकाका बाबु गोपाल प्रसाद र दिदी मिरा । तर, बुद्ध शान्ति गाउँपालिका २ का वडा अध्यक्ष दिलिप श्रेष्ठ र अधिकारकर्मीहरुको रोहबरमा सँगै बस्नु भनि कागज गराएर छोडिदियो प्रहरीले ।
लोकेश र देवका जयपुरको आफ्नै घरमा बसिरहेका थिए तर देवकाकी दिदी मिरा बिमली सिटौला करिब १७ जना गुण्डाहरु लिएर घर घेरा हाल्न आइन् ।

देवकालाई अपहरण गर्ने प्रयास असफल भयो र लोकेश र देवका घर छोडेर देशकै राजधानी काठमाण्डौं शान्ति सुरक्षाको खोजी गर्दै आइपुगे । उनीहरुसँग भएको केहि रकम काठमाण्डौंमा यता उता दौडदाँ दौडदै सकियो । उनीहरुले सानो तिनो काम खोजी गरे । काममा भर्खर लागेका उनीहरुलाई बुधबारे प्रहरी चौकीबाट फोन आयो, त्यहाँका असईले भने–‘५ दिन भित्र आएनौं भने जे पनि हुन सक्छ ।’ यो धम्की पछि झनै बिचल्लीमा परे उनीहरु ।

लोकेशका दाजु बुधबारे बजारमा सानो सिलाई पसल सञ्चालन गर्दै आएका छन् । उनलाई ‘तेरो भाई निकाल’ भन्दै प्रहरीले नै गिरफ्तार गरी चौकीमा पुराए पछि भाइ बुहारी दुवैलाई झिकाउने बाचा पछि छोडिएको छ ।

प्रहरी सिटौला परिवारको पक्षमा खुलेरै लागेको छ ।

समाजमा शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरी कथित ठूला बढाको लागि काम गर्ने तर कमजोर बर्गका व्यक्तिहरु माथि दादागिरी गर्न नमिल्नु पर्ने हो जसको जवाफ प्रहरीको माथिल्लो तहले दिनुपर्ने छ । बाहुन जातको दम्भ देखाउदै गोपाल प्रसाद र मिरा बिमली सिटौलाले ललाइ फकाइ प्रहरी चौकीमा बोलाएर छुट्टाउने प्रयास गर्दै प्रहरी चौकीमानै कुटपिट तथा लछारपछार गर्दा प्रहरीले अझ पीडक पक्षलाई नै सघाउनु आश्चर्यको विषय हो ।

प्रहरीले आफ्नै कार्यालयमा लोकेश दर्जीको जिम्मामा श्रीमतीको रूपमा रहेने बस्ने भनी कागज गराई छोड्नु तर सिटौला परिवारले जर्बजस्ती छुटाउन खोजी सार्वजनिक गाली बेइजति गरि जातीय भेदभाव गर्दा किन कानून आकर्षित नहुनु भन्ने कुरा अहिले आम चासोको विषय बनेको छ ।
आफू भागेर ज्यान जोगाउदै गरे पनि अहिले केटा पक्षका परिवारलाई प्रहरी र केटी पक्षका परिवारले दैनिक रूपमा धम्क्याउने र केटाकेटीलाई बोला हैन भने जेलमा हाल्ने नभए जे पनि हुने जस्ता धम्की दिने गरेको भन्दै देवका अहिले पनि हारगुहार गरिरहेकी छन् । उनले भनिन ‘हामी कुनै पनि हालतमा छुट्न सक्दैनौ र असुरक्षाको कारण अहिले घरमा जान पनि सक्दैनौं, हामी जोडी र हाम्रो परिवारको सुरक्षाको लागि पहल गरिदिनुहोस ।’
अन्तरजातीय विवाहलाई कानूनले प्रोत्साहन गरेको छ । यो हुन आवश्यक पनि छ किनकी जातकै आधारमा नेपालमा लामो समयदेखि चरम भेदभाव र असमानता कायम भएको छ । जातीय अन्धविश्वासकै कारण हिन्दु धर्म दिनप्रतिदिन संकटमा पर्दै गएको छ । सोही धर्ममा लिप्त भएका दलित समुदायका मानिसहरु यस अघि पनि थुप्रै स्थानमा शिकार बन्दै आएका छन् । कथित उपल्लो जातका मानिसले सके छुटाउने नसके हत्या समेत गरिदिने गर्दै आएका छन् ।

यस्ता विषयले अहिले सिंगो दलित समुदाय र हिन्दु धर्मका विषयमा बहस केन्द्रित भएको छ । भारतीय संविधान निर्माता डा. भिमराव अम्बेडकरले समेत पछिल्लो समय जातीय भेदभावको मुख्य कारक नै हिन्दु धर्म भएको भन्दै धर्म परिवर्तन गरी बुद्धिष्ट बनेका थिए ।

अहिले पश्चिम नेपालमा अधिकांश दलितहरु हिन्दु धर्म त्यागेर बुद्धिष्ट बन्ने डा. अम्बेडकर अभियान नै सञ्चालन गर्न थालेका छन् भने अधिकांश दलितहरु क्रिश्चियन, मुस्लिम, किरात जस्ता धर्ममा लागिरहेका छन् ।
यतिबेला नेपालको दलित आन्दोलनमा अन्तरजातीय विवाहका विषयमा व्यापक बहस शुरु भएको छ । कतिले आफ्नै जातमा विवाह गर्न सुझाव दिएका छन् भने धेरैले कानून कार्यान्वयन नभएको र कार्यान्वयनको तहमा बस्नेहरुको मनस्थिति सही नहुँदा दलित समुदायले दुःख भोग्नु परेको बताएका छन् ।

यस घटनालाई नजिकबाट नियालेका अधिकारकर्मी तथा नयाँ शक्ति पार्टी नेपालका १ नम्बर प्रदेशका प्रवक्ता दलमर्दन कामीले पीडितहरुले जसरी भए पनि न्याय पाउनै पर्ने दाबी गरेका छन् । त्यसका लागि संसारभरका न्यायप्रेमी सबै एकजुट हुन आव्हान समेत गरेका छन् । -Mahapratibad Patrika

Leave a comment

Your email address will not be published. Required fields are marked *