झापामा सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको भन्दै नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापामा सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको भन्दै नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित ३५९ जनाविरुद्ध विशेष अदालतमा दुईवटा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

तत्कालीन नापी अधिकृत विष्णुकुमार न्यौपानेसमेत १७२ जना र तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जनाविरुद्ध छुट्टाछुट्टै दुईवटा मुद्दा अख्तियारले आइतबार दर्ता गरेको हो। मुद्दामा नापी कार्यालयका तत्कालीन अधिकृतहरूलाई दुईवटै मुद्दामा प्रतिवादी बनाइएको छ। दुई मुद्दामा गरी ५८ बिघा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको अख्तियारको दाबी छ। दुवै मुद्दामा ७६ करोड २८ लाख रूपैयाँ बढी बिगो, सजाय, जरिवाना हरेक व्यक्तिलाई छुट्टाछुट्टै मागदाबी गरिएको छ। नापी कार्यालयका तत्कालीन अधिकृतहरू र जग्गादाताहरू कतिपयको मृत्यु भैसकेको छ। मृत्यु भए पनि उनीहरूका सम्बन्धित परिवारका नजिकका सदस्य पत्नीलाई प्रतिवादी बनाइएको छ।

नापी र मालपोत कार्यालय झापाका तत्कालीन प्रमुखदेखि कर्मचारीहरू यस मुद्दामा मुछिएका छन्। दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) कित्ता नम्बर ७६० देखि ७६२, ७७३, ७८३, ७८४, ७८७, ७८८ र साविक दमक ६ ‘ग’ र ५ ‘ग’ बीचको मार्जिनका जग्गाहरू २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएकोमा उक्त कित्ताहरू नापी कार्यालय चन्द्रगढी, मालपोत कार्यालय दमक र नापी कार्यालय दमक, झापाबाट पुनः नापीका बखत विभिन्न व्यक्तिहरूको जग्गामा घुसाई हालसाबिक प्रक्रियाबाट दर्ता भएको अख्तियारको दाबी छ। मुद्दामा सुरु जग्गा दर्तावाला ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका ११३ गरी जम्मा प्रतिवादी १८७ जना छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको दफा ८ को उपदफा (१) अनुसार कैद र बिगोबमोजिम सबैजनालाई छुट्टाछुट्टै जरिवानाको सजाय गरी बिगो असुलउपर हुनुपर्ने मागदाबी गरिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *