झापा गोल्डकपः साबिक विजेता आर्मी सेमिफाइनलमा

बिर्तामोड । मछिन्द्र फुटबल क्लव माथी २-१ को रोमाञ्चक जित निकाल्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ११औँ मिनेटमै मछिन्द्रले लिएको अग्रता उल्टाउदै आर्मीले कमब्याक जित निकालेको हो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको आर्मीले दुवै गोल दोश्रो हाफमा गर्यो ।

६१औँ मिनेटमा आर्मीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै खेलमा बराबरी गरे । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गर्दै आर्मीको जित सुनिश्चत गरे । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

जितसँगै झापा गोल्ड कपको चारपटकको विजेता आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । पहिलोपटक सहभागी भएको मछिन्द्र भने क्वार्टर फाइनलबाटै घर फर्किएको छ । खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी प्रदान गरे ।
१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । १ प्रतियोगिता अन्तर्गत बिहिबारको अन्तिम क्वाटर फाइनल खेलमा झापा ११ एफसी र एन्फा मकवानपुरबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *