आज राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदै

आज राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदै छ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच राष्ट्रिय सभाको अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ । दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि साथ छ।दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ तथा लोसपाका शेखरकुमार सिंह छन्। गठबन्धनमा तलमाथि नभए दाहालले बहुमत पाउने निश्चितजस्तै छ। सत्ता गठबन्धनसँग ३९ सांसद छन् । अध्यक्ष जित्न २९ मत चाहिन्छ। सुरुमा कृष्ण सिटौलालाई अध्यक्षमा उठाउने भनेको कांग्रेसले गठबन्धनको गणित उल्टिएपछि युवराज शर्मालाई अघि सारेको हो । माओवादीले पनि सुरुमा हालकै उपाध्यक्ष उर्मिला अर्याल वा नवनिर्वाचित सदस्य झक्कु सुवेदीको नाम चर्चामा ल्याएको थियो । आज ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दैछ। संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार, बैठकको सुरुमा राष्ट्रिय सभाका सदस्य आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

अर्का सदस्य गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्ने भएकाले उनले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछिन् । पहिलो अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि यही फागुन २० गते सकिएकाले यो पद रिक्त भएको हो। तिमिल्सिना एमाले सांसद थिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *