अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको आरोपमा एन्फालाई कारबाही गर्न निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न आफू मातहतको निकायलाई पत्र काटेको छ।

फिफा विश्वकप छनोट दोस्रो चरणअन्तर्गत बहराइनसँगको खेलका लागि एन्फाले खेलाडी र प्रशिक्षण टोलीबाहेक अतिरिक्त १० जना अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको थियो। बहराइनसँगको खेलअगाडि नेपालले मलेसियासँग आगामी शुक्रबार मैत्रीपूर्ण खेल खेल्दै छ। जम्बो टोली मलेसिया पठाएपछि एन्फाले चौतर्फी आलोचना खेप्दै आएको छ। खेलकुद मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै एन्फालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र काटेको हो। राष्ट्रिय खेलकुद ऐनविपरीत अनावश्यक व्यक्ति भ्रमणमा पठाएको भन्दै मन्त्रालयले कारबाही गर्न आदेश दिएको छ।

साथै खेलकुद मन्त्रालयले राखेपको स्वीकृतिपश्चात् मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता, गोष्ठी, तालिम, सेमिनार वा सम्मेलनमा भाग लिन जानुअगाडि वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयलाई समेत अनुरोध गरेको छ।मन्त्रालयले जम्बो टोली पठाएकामा कारबाही गर्न निर्देशन दिएको हो। ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (झ) मा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था छ।

राखेपको च।नं। ६२७ मिति २०८०र११र३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएकाले एन्फालाई कारबाही गरी सोको जानकारी गराउन राखेपलाई निर्देशन दिइएको छ,’ खेलकुद मन्त्रालयले भनेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *