बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ मा बस पल्टिँदा ७ यात्रुको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस सडकदेखि खस्दा ७ यात्रुको  मृत्यु  भएको छ भने २४ जना घाइते भएका छन् ।

आज साँझ ५ बजेर २० मिनेटमा यात्रुबाहक बस सडकदेखि १ सय ५० मिटर तल खस्दा ७ यात्रुको मृत्यु भएको र २४ जना घाइते भएको जिल्ला प्रहरीका निरीक्षक दिपकबाबु केसीले जानकारी दिए ।इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार बिकको नेतृत्वमा गएको टोलीले सुरुआतमा खोजी तथा उद्धार गरेको थियो । टोलीले ७ जना घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । उनीहरु पनि बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

रुकुम पश्चिमबाट काठमाडौं जान हिँडेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस खसेको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय झिवाखोलाको टोली घटनास्थल तर्फ लागेको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको केसीले बताए । अँध्यारो भएकोले उद्धारमा कठिनाइ भएको केसीले बताए । घटनामा थप सुरक्षा र जनशक्ति आवश्यक भएपछि विपत् व्यवथापन गुल्म बागलुङबाट २० जना, नेपाली सेनाको घोडाबाँधे व्यारेकबाट समेत थप उद्धार टोली घटनास्थल तर्फ लागेको छ । घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिम पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी मदन केसीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *