बाह्रदशीमा पतिले गरे खुकुरी हानेर पत्नीको हत्या

बिर्तामोड, चैत २२ ।  झापाको बाह्रदशी गाउँपालिका १ मा आज बिहानै पतिले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।

पति विदेशबाट भर्खरै नेपाल आएका हुन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले पत्नी ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।

देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताउनुभयो ।

राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए ।

पत्नी अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ । मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *