मतदान गर्ने बेलामा योग्य उम्मेदवार छान्न र भावनामा नबग्न पूर्वप्रधानमन्त्री ओलीको आग्रह

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पहिचान स्थापित भएपछि आ–आफ्नो पहिचान स्थापित हुने बताएका छन् । उनले राष्ट्रिय पहिचान स्थापित गर्दै विविधतामा एकता खोजी गर्न सबैमा आग्रह पनि गरे ।

इलामको चुलाचुली गाउँपालिकामा आज (बुधबार) आयोजित चुनावी सभामा बोल्दै ओलीले जातका कुरा गर्दा कसैको पनि बहुमत नआउने बताए । ‘जातीय संकीर्णताका कुरा गरेर बहुमत आउने होइन,’ उनले भने, ‘यो देशमा कुनै जातिको बहुमत छैन, सबै मिलेमात्र बहुमत आउन सक्छ ।’उनले एमालेजति समावेशी दल अर्को नभएको दाबी पनि गरे । ‘अब हामीले राष्ट्रिय पहिचानका लागि अघि बढ्नुपर्छ, हिंसा फैलाएर, विद्वेष फेलाएर, द्वन्द्व बढाएर देश अघि बढ्दैन,’ उनले भने, ‘सबैको सामथ्र्यलाई एकठाउँमा ल्याएर देश बनाउनुपर्छ ।’

उनले देश बनाउन अहिले इलाम क्षेत्र २ मा सुहाङ नेम्बाङ नै सबैभन्दा सर्वोत्तम उम्मेदवार भएको दाबी पनि गरे । ‘यो क्षेत्रमा सुहाङलाई जिताएर पठाउनुस्, यहाँको विकासको जिम्मा उहाँले लिनुहुन्छ, सुहाङको जिम्मा म लिन्छु,’ ओलीले भने, ‘यहाँका केही समस्या छन् भने सुहाङलाई भन्नेबित्तिकै समाधान भयो भनेर सोच्नुभए हुन्छ ।’ओलीले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट लाग्न पनि सबैलाई आग्रह गरे । ‘हाम्रो पार्टीको तर्फबाट भन्छु, चुनावको बेला कतै कुनै हिंसा नगर्नुहोला । बेथिति नहोस्, प्रतिस्पर्धा स्वस्थ होस्,’ उनले भने, ‘देश हामीले बनाउने हो । देश बनाउन सही उम्मेदवार छान्नुपर्छ । कानुन बनाउने ठाउँमा कानुन जानेको, पढेको मान्छे पठाउनुपर्छ । कानुनमा मास्टर्स गरेको, बुझेको जानेको मान्छे सुहाङ नै हो ।’ उनले मतदान गर्ने बेलामा योग्य उम्मेदवार छान्न र भावना नबग्न पनि आग्रह गरे । ‘समावेशी उम्मेदवार छान्नुपर्छ तर जाती  य संकीर्णताबाट होइन,’ उनले भने, ‘बिनाभेदभाव, योग्यता, क्षमता, सक्षमता हेरेर उम्मेदवार चुनौं ।’

इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । गत भदौ २६ मा एमाले नेता सुवासचन्द्र नेम्बाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *