झापामा सवारी दुर्घटनाः बैसाख दोश्रो साता नबित्दै ९ जनाको मृत्यु, १० गम्भिर घाईते

अस्मिता साँखी
१५ बैसाख, झापा ।  बैसाख महिना लागेयता झापामा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । बैसाखको १४ गतेसम्म भएका १६ वटा छुट्टाछुट्टै दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने १० जना गम्भिर तथा १४ जना सामान्य घाईते भएका छन् ।

चालु आर्थिक बर्षको साउन देखी बैसाख १४ गतेसम्म भएका दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको हो । गत चैत मसान्तसम्म ५८ जनाको मृत्यु भएको थियो भने बैसाखमा मात्रै थप ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो अवधीमा भएका दुर्घटनामा तीन जना बालबालिका, सात महिला र ४८ जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घनामा परी एक सय २७ जना गम्भिर घाइते भएका छन् । यस्तै चार सय १२ जना सामान्य घाइते भएका छन् । जसमा दुई सय ९१ जना पुरुष, ९९ महिला र २२ जना बालबालिका रहेका छन् ।

दुर्घटनामा सबैभन्दा धेरै मोटरसाईकल तीन सय १४ वटा, जिप तथा कार ५२ वटा, टेम्पो ३६ वटा, ट्रक २५ वटा, बस २२ वटा, ट्रयाक्टर १७ वटा गरी चार सय ९७ वटा सवारी साधन दुर्घटनामा परेका जनाइएको छ ।

सवारी साधानको उच्च चाप, सडकको जिर्ण अवस्था, चालकको लापरवाही, ट्राफिक प्रहरीको जनशक्ती अभावका कारण सडक यात्रा असुरक्षित बन्दै गएको हो । झापामा सवारी साधनको अनुपातमा ट्राफिक प्रहरी जनशक्ती कम रहेका कारण पनि सवारी चेकजाँच र नियमनमा कडाई गर्न अफ्ठयारो परेको प्रहरी निरिक्षक न्यौपानेको भनाई छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा दुई लाख ९६ हजार आठ सय ८५ वटा सवारी दर्ता भएका छन् । सवारी संख्याको अनुपातमा निकै कम अर्थात ८३ जना ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापन भईरहेको छ । हाल एक जना ट्राफिक प्रहरीले तीन हजार ३२ वटा सवारी साधनको रेखदेख गर्नु पर्ने अवस्था रहेको न्यौपानेले बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरणकै लागि विद्यार्थीसँग ट्राफिक सचेतना कक्षा, हेलमेटको प्रयोग सम्बन्धी सडकमै प्रशिक्षण, नयाँ चालक, व्यवसायी, परिचालकलाई विशेष कक्षा, सर्वसाधारणलाई ट्राफिक सचेतना सम्बन्धी कक्षा सञ्चालन गरेको बताइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *