फेसबुके प्रेम : विदेशबाट नेपाल आएर प्रेमिकाको श्रीमानको हत्या

भदौ २२ । अर्घाखाँचीमा फेसबुकबाट मायाप्रेम बस्न गएका एक प्रेमीले विदेशबाट नेपाल आएर प्रेमिकाको श्रीमान्को हत्या गरेका छन् ।गत सोमबार सन्धीखर्क नगरपालिका–१२ नजिकै टाउको काटिएको अवस्थामा बोरामा शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा यसको खुलासा भएको हो ।

बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर–७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको पुष्टी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गरेको हो ।

यस्तो छ घटनाको नालेबेली
घास काट्न गएका महिलाहरुले अनौठो गन्ध आएपछि खोज्दै जाँदा अनुहारनै नचिनिने अवस्थामा शव फेला पारेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बेवारिसे शव भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा–७ धैरेनीडाँडा बस्ने धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राती श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन् । शव हेरेपछि उनले उक्त शव आफ्नो श्रीमानको नभएको बताइन् ।

प्रहरीले फेरि राधालाई जिल्ला प्रहरी कार्यलयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरीसँग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरीसँग झुटो विवरण सुनाइन् ।

तर, प्रहरीलाई उनको हाउभाउले शंका लाग्यो र हिरासतमा राखेर सोधपुछ गर्दा राधाले उक्त शव आफ्नै श्रीमान्को रहेको र आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन् । हत्या गरेर बोरामा बानेर फालेको पनि उनले स्वीकार गरिन् ।

राधा र रुकुम घर बताउने रमेश विकको प्रेम फेसबुक र भाइबरबाट सुरु भयो । गत भदौ १० गते रमेश विदेशबाट नेपाल फर्किएपछि आफनो घर नगई विदेशबाट राधाको घरमा आए । राधाको श्रीमान कामको सिलसिलामा बागलुङ गएका कारण उनी राधाको घरमा तीन दिन बसे ।

त्यसपछि राधा, राधाकी आमा र रमेश कपिलवस्तुबाट माइती अर्घाखाँचीको यात्रा तय गरे ।

यता, दशैँमा घर आउँछु भनेर बागलुङ गएका राधाका श्रीमान धन बहादुर घर्तीमगर अचानक घर आए । तर, श्रीमतीलाई देखेनन् । श्रीमतीलाई नदेखेपछि उनले फोन गरे । फोनमा किन नभनी माइत गएको भन्दै भनाभन भयो । राधाले ‘म भोलि फर्केर आउँछु’ भनेपछि कुराकानी सकियो ।

रिसले चुर भएका धनबहादुर एक्कासी १३ गते साँझनै ससुराली डिभर्ना आइपुगे । ससुरालीमा श्रीमतीले अर्कै पुरुष लिएर आएको थाहापछि उनीहरुबीच विवादले उग्र रुप लियो । विवादबीच रमेशले धनबहादुरको हत्या गरे ।

हत्यापछि बोरामा बाँधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले बताए ।

धनबहादुरको हत्या गरेको अर्को दिन राधा र रमेश बिहानै कपिलवस्तुतर्फ लागे । पछि रमेश आफ्नो सुटकेस समेत नलिई आफ्नो सुटकेस पठाइदिन भनेर त्यहाँबाट हिँडेको राधाले बयान दिएकी छिन् । राधाको बुबा-आमा र राधालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *