खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गयो

बैशाख २८, खोटाङ । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ । हिजो बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वर मझुवाभीरमा रक क्लाइम्बिङ गर्नेक्रममा खसेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ३४ वर्षीय सुचन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

झण्डै ४० मिटर अग्लो भीरबाट खसेर घाईते भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा ज्यान गएको हो । राई रक क्लाइम्बिङका लागि दुई जना साथीसहित बुद्धेश्वर मझुवा भीरमा पुगेका थिए । पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको चैत २३ गते मझुवाभीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो ।

रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक सङ्घलाई ल्याएर ६ दिन तालिम पनि सञ्चालन गरिएको थियो । सात जना स्थानीय र शसस्त्र प्रहरीका गरी १२ जनाले तालिम लिएकोमा राई पनि हुनुहुन्थ्यो । तालिम प्राप्त भए पनि रक क्लाइम्बिङ गर्नेक्रममा आवश्यक आधारभूत सुरक्षा व्यवस्था नहुँदा राई भीरबाट खस्न पुगेको प्रारम्भिक अनुमान छ । राई तरुण दल खोटाङका जिल्ला सदस्य हुनुहुन्थ्यो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *