संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

बैशाख ३१, काठमाण्डौ । सरकारले संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । त्योभन्दा पहिले कांग्रेससँग सहमति हुने प्रधानमन्त्रीको विश्वास छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनैपर्ने अडानसहित कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले आज बेलुका या भोलि बिहानसम्म कांग्रेससँग सहमति हुने र सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले प्रस्तुत गर्न वातावरण बन्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि आज बस्दैछ । बैठकमा भोलि बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने नेताहरुले बताएका छन् । भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *