मुलुकी ऐनविरुद्ध डाक्टरपछि पत्रकार पनि सडकमा

२२ भदौ, काठमाडौँ । मुलुकी देवानी र फौजदारी ऐन संशोधन माग गर्दै पत्रकारहरुले काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा नयाँबानेश्वरस्थित एभरेस्ट होटेल अगाडिको सडकमा जम्मा भएर पत्रकारहरुले प्रेस स्वतन्त्रता खोस्ने ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा पत्रकारहरुले कालो ब्यानरसहित मुलुकी देवानी र फौजदारी दुवै ऐन संशोधन गर्न माग गरेका थिए । पत्रकारहरुले भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पत्रकारितालाई फौजदारीकरण गरेको भन्दै विरोध जनाएका हुन् ।

प्रदर्शनका क्रममा पत्रकाहरुले समाचार संकलनका लागि प्रयोग गरिने कलम, डायरी, क्यामेरा, रेकर्डर पनि सडकमा राखेका थिए । मुलुकी ऐनविरुद्ध यसअघि डाक्टरहरुले पनि आन्दोलन चर्काएका थिए । उनीहरु अहिले पनि आन्दोलका क्रममा नै छन् ।

पत्रकारहरुले‍ पनि नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै प्रदेश र संघीय सरकारलाई पटक पटक दबाब दिइरहेका छन् । तर सरकारले भने प्रेस स्वतन्त्रता खोस्ने सरकारको मनासय नरहेको बताउँदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *