कोशी प्रदेशस्तरीय चलचित्र महोत्सव बिर्तामोडमा आजदेखी सुरु

६ जेठ, बिर्तामोड । कोशी प्रदेशस्तरीय चलचित्र महोत्सव झापाको बिर्तामोडमा आजदेखी सुरु भएको छ । आन्तरिक मामिला मन्त्रालयको आयोजनामा हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो ।
महोत्सव जेठ ११ गतेसम्म झापा र विराटनगरमा सञ्चालन हुने आयोजकले जनएको छ । महोत्सबको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा चलचित्र प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड गठन गर्ने र त्यस्का लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले चलचित्रकर्मीहरूलाई एक ढिक्का भएर चलचित्र प्रवर्द्धनमा लाग्न आह्वान पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूसंग हाम्रो पनि माग छ । तपाईंहरू एक ढिक्का भएर आउनुहोस् । राम्रो काम गर्नुहोस् । चलचित्र बिकास बोर्ड गठन गर्न प्रदेश सरकार तयार छ ।’
आफुले पनि पछील्लो समय नेपाली फिल्म हेर्ने गरेको र सबै लाई नेपाली फिल्म हेर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले चलचित्र समाजलाई देखाउने ऐना भएको बताउनुभयो । विगतमा बनेका चलचित्रहरूले आफूलाई समेत धेरै प्रभावित बनाएको कुरा उल्लेख गर्दै उनले समाज परिवर्तनमा चलचित्रले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।
लामो समय देखी चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरु शुन्यजस्तै रहेकाले प्रदेशमा पहिलो पटक चलचित्र महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताउनुभयो । कोशी प्रदेश सरकारका मन्त्रीहरु, सरकारका सचिब, सह सचिब, बिभिन्न राजनितीकर्मी कलाकर्मीको बाक्लो उपस्थिती रहेको उद्घाटन कार्यक्रममा गीतसंगीत ,नृत्य साथै विभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *