एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति शुरु

जेठ १०, झापा ।    एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति शुरु भएको छ । हिजो नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो । कमल गाउँपालिका–५ को पाडाजुँगी चोकमा भएको शिलान्यास कार्यक्रममा उहाँले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्झौतामा उल्लेख भएकै तीन वर्ष अवधिमा एसियाली राजमार्गको निर्माण सम्पन्न हुने बताउनुभयो । भारत सरकारले पूर्वपश्चिम राजमार्गको प्रस्थानविन्दु काँकडभिट्टाको पाँच मिटरभित्रसम्म एसियाली राजमार्गको निर्माण दुई वर्षअघि नै गरिसकिएको छ भने मेची नदीमा नयाँ पुल पनि बनिसकेको छ ।

अब काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नति कार्यको सुरुआत भएको छ । ‘एएचटु’ नाम दिइएको यो अन्तरदेशीय राजमार्ग एसियाली विकास बैंकको सहयोगमा बन्ने भएको हो ।

सडक विभागको आयोजना निर्देशनालय (एडिबी) मातहत निर्माण हुने यस राजमार्गलाई दुई खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । काँकडभिट्टादेखि केरखासम्मको ४५ किमी लम्बाइ भएको पूर्वी खण्ड रहेको छ भने केरखादेखि इटहरीसम्मको ५० दशमलव ७६ किलोमिटर पश्चिम खण्ड रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *