दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

१७ जेठ, झापा । झापाको दमकमा प्राधिकरणको लापरबाहीले करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

आज (बिहीबार) बिहान अन्दाजी ९ः१५ बजे दमक २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा जस्तापाताको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा जस्तापाता छुन गई करेन्ट लागेको थियो ।

घाइतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेकोमा बिहान १०ः१४ बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

प्राधिकरण कार्यालयको लापरबाहीका कारण राईको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए ।

उनीहरूले मृतक परिवारले राहत पाउनुपर्ने माग गरेका थिए । दमक नगरपालिका प्रमुख रामकुमार थापा, दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक विद्युत् कार्यालयका प्रतिनिधि, मृतक पक्षका आफन्तसमेत बसेर भएको छलफलमा तीन बुँदे सहमति भएको छ ।

नगरपालिकाले किरिया खर्चबापत ५० हजार दिने, विद्युत् कार्यालयले तत्काल ३० हजार दिने र उपल्लो विद्युत् कार्यालयसँग धेरैभन्दा धेरै क्षतिपूर्ति उपलब्ध गराउनको लागि स्थानीय निकाय, विद्युत् प्राधिकरणले संयुक्त रुपमा माग गर्ने सहमति भएको दमक प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *