आज विश्व वातावरण दिवस मनाइँदै

जेठ २३, काठमाण्डौ । आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देशमार्फत् मानिस भूमिमा निर्भर रहेको तर प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले पृथ्वी अर्थात् भूमि खराब बन्दै गएको बताउनुभएको छ । उहाँले पृथ्वीलाई स्वच्छ राख्दा मानवसँगै सबै जीवजन्तुको भविष्य सुरक्षित रहने पनि बताउनुभयो ।

त्यसतर्फ ध्यान दिएर सबै देशले वातावरण संरक्षणका लागि गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ लाग्नुपर्नेमा उहाँको जोड छ । नेपालमा वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय, मातहतका निकाय र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका छन् । तर ती प्रयासबाट अपेक्षा अनुसारको उपलब्धि हुन नसकेको टिकाटिप्पणी हुँदै आएको छ । वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकोतर्फ सबै सचेत हुनुपर्नेमा विज्ञको जोड छ ।

यसैबीच वातावरण विभाग, वातावरण संरक्षणकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाले वातावरण संरक्षणका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । आफू सम्बद्ध निकायको वार्षिक नीति तथा कार्यक्रममा प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई समावेश गरी प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रतिबद्ध रहने विषयमा सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।

वातावरण तथा जनस्वास्थ्यलाई हानी पुर्‍याउने तोकिएको मापदण्डभन्दा कम गुणस्तरको प्लाष्टिकका झोलाको प्रयोग र बिक्री वितरणलाई निरुत्साहित गर्ने, बहुप्रयोग हुने कपडा तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गरी बनाइएका वैकल्पिक झोलाको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत प्रतिबद्धतामा उल्लेख छ ।

यसैगरी जैविक विविधताको संरक्षण र अभिलेखीकरण, पानीका मुहान, कुँवा, पोखरी तथा तालतलैयाको संरक्षण गर्नेतर्फ ध्यान केन्द्रित गर्ने ती निकायको प्रतिबद्धता छ । वातावरण विभागका महानिर्देशक भूपाल बरालले नेपालको संविधानमा मौलिक हकको रुपमा राखिएको स्वच्छ वातावरणको हक कार्यान्वयन गर्न वातावरणीय पक्षमा सुधार गर्नुपर्ने र यसका लागि सबै सरोकारवालाको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वाधार विकासका क्रममा दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न दिवसले सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *