मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्यो

मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्‍यो ।

मुख्यमन्त्री यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका एक जनाको मत परेको छ । यसैबीच मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति निकालेर प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि शुक्रवार बिहान १० बजेसम्मको समय दिएको उल्लेख गर्नुभएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *