यो वर्ष झापामा बाढीबाट ४२ हजार प्रभावित हुने, ५० आश्रयस्थल तोकियो

जेठ २५, बिर्तामोड ।  बाढीको उच्च जोखिममा रहेको झापामा यो वर्ष बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ ।

सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको जिल्ला विपद व्यवस्थापन समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताउनुभयो ।

समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्ने सक्ने घरधुरीको तथ्याङ्क संकलन गर्ने, पालिकाहरुमा फोकल पर्सन तोक्ने र विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ ।

झापाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा सातवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको बाँस्तोलाको भनाइ छ ।

उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् । यस वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले झापामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुबानबाट प्रभावित हुने अनुमान गरिएको हो ।

प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरुसँग समन्वय गरेर विपद व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको समितिले जनाएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी संघसंस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रह गरेको छ ।

मेची, निन्दा, रतुवा, मावा, कनकाई, बिरिङलगायत दर्जनौँ नदीबाट हुनेसक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यु हेल्मेट, प्लास्टिकजन्य ट्युब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरुलाई आग्रह गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *