एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

जेठ २५, काठमाण्डौ ।  उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताउनुभएको छ ।

बिम्स्टेक स्थापनाको २७ औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिम्स्टेकका लक्ष्य हासिल गर्न तथा सङ्गठनलाई कार्यात्मक परिणाममुखी र नागरिक केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।

प्राकृतिक स्रोत र साधनले भरपूर बिम्स्टेक क्षेत्रले सङ्गठनका माध्यमबाट विकास गरेको भए पनि अझ बढी जनकेन्द्रित कार्य गर्न नेतृत्व तहको सामूहिक बुद्धिमता एवम् दृष्टिकोण आवश्यक भएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

उहाँले छैटौँ बिम्स्टेक शिखर सम्मेलनको तयारी भइरहँदा विश्वव्यापी रूपमा थपिएका नयाँ चुनौतीको सामना गर्दै क्षेत्रीय सहयोगलाई अझ सृदृढ बनाउने कार्ययोजना तयार गर्न जरुरी भएको बताउनुभएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *