बालिकामाथि यौनजन्य कसुर गरेको अभियोगमा तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला

जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेको अभियोगमा तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति हुनेगरी सजाय फैसला गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हिजो बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।

गएको सोमबार तपस्वी बम्जनले बालिकामाथि यौनजन्य कसुर गरेको ठहर भएको थियो । पीडित बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिका पत्थरकोटमा आश्रममा रहेका बेला बाराको निजगढ नगरपालिका–१२ का ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।

यो मुद्दामा बम्जनलाई काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको निवासबाट गएको पुस २४ गते सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन् । बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको विभिन्न आरोप पनि छन् । उनीविरुद्ध पाँच जना परिवारले उजुरी दिएका छन्  ।

Leave a comment

Your email address will not be published. Required fields are marked *