झापाको बिर्तामोड(शनिश्चरे) सडक खण्डमा कालोपत्रे निर्माण कार्य सम्पन्न

झापाको बिर्तामोड(शनिश्चरे) सडक खण्डमा कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । पहिलोपल्ट कालोपत्रे भएको करिब ४० वर्षपछि यो सडकले पुनः स्वरुप परिर्वतन पाएको हो ।कालोपत्रे निर्माण सम्पन्न भएसँगै आजबाट सडक पूर्णरुपमा सञ्चालनमा आउने बताइएको छ । असार ९ गते सुरु भएको सडक कालोपत्रे गर्ने कार्य आज सम्पन्न भएको हो ।काम सुरु भएपछि बीचमा प्रतिकुल मौसमका कारण केही दिन स्थगित हुँदा ढिलाई भएको थियो । लगातारको झरी र प्राविधिक समस्याका कारण कालोपत्रे गर्ने कार्यले पूर्णता पाउन केही दिन ढिला भएको निर्माण पक्षले बताएको छ ।१५ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको यो सडकको पूरा स्वरुप बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारीहुँदै लक्ष्मीपुरबाट कालिस्थानसम्म ६ दशमलव २ किलोमिटर दूरीको हुनेछ ।

बिर्तामोडदेखि दासपुलसम्म ४ लेन र दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ ।हाल सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म १ दशमलव ५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले बताए ।‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको यो सडक २०७९ जेठमा ठेक्का लागेको थियो । यो सडक खण्डमा यसअघि सडकमा सवारीसाधन चलाउन नसक्ने गरी खाल्डाखुल्डी भएका कारण कतिपय सवारीसाधन दुर्घटनामा परेका थिए ।समयमा रकम निकासा नहुँदा निर्माण कार्य समयमै गर्न नसकिएको ठेकेदार कम्पनीले बताउदै आएको थियो । सडक निर्माण सम्पन्न भएसँगै उक्त सडकबाट यात्रा गर्ने सवारी र यात्रुलाई सहज भएको छ ।

सडकमा कालोपत्रे भएपछि लामो समयदेखि सडक निर्माणको माग गर्दै आइरहेका स्थानीय भने हर्षित भएका छन् । यो सडक मार्गको प्रयोग गर्दै पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडबाट शनिश्चरे(खुदुनाबरीहुँदै इलामसम्मका यात्रुहरुका लागि सहज भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *