विराटनगरमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु

२५ असार, झापा । विराटनगरमा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। सोमबार साँझ विराटनगर–२ मा दुई समूहबीचको झडपमा धारिलो हतियार प्रहार हुँदा एकजनाको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा मोरङको कटहरी गाउँपालिका– १ जमटोलीका २१ वर्षीय करण कामत रहेका छन्। झडपमा सोही ठाउँका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा विराटनगर–११ घर भई विराटनगर–२ बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भई विराटनगर बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदाबा शेर्पा, भोजपुरको भुल्के घर भई विराटनगर बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भई विराटनगर बस्दै आएका १५ वर्षीय किशोर रहेका छन्।

मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार आइतबार शेर्पा समूहका आफन्त पर्ने युवतीलाई मृतक कामत समूहका युवकहरूले जिस्क्याएको निहुँमा उनीहरूबीच विवाद भएको खुलेको छ। सोही विवादको बदला लिन कामत समूहले सोमबार राति एक दर्जन युवाहरूको समूह ल्याएर बाटो ढुकेर शेर्पा समूहमाथि आक्रमण गरेको थियो।

प्रतिकारका क्रममा शेर्पाको समूहले धारिलो कैँची प्रहार गर्दा तीनजना गम्भीर घाइते भएका थिए। स्थानीयको सूचनाका आधारमा आक्रमणमा परी घाइते भएका कामत, मण्डल र राय सडकमा छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल लगेको थियो। कामतको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिकारमा उत्रिएका शेर्पा र गिरी विराटनगरको मुनालपथस्थित एक औषधि पसलमा काम गर्दथे। उनीहरूले प्रयोग गरेको कैँची प्रहरीले उनीहरूले काम गर्ने औषधि पसलबाटै बरामद गरेको हो । उनीहरूलाई सोमबार राति उनीहरूकै डेराबाट पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *