पहिरोका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु

२८ असार, झापा ।  मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायतका विपद्का घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय चार जना पुगेको छ ।

पहिरोका कारण पछिल्लो २४ घण्टामा मात्रै १६ जनाको ज्यान गएको हो । जसमा पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका सातसहित ११ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेपछि एक सय चार जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार काठमाण्डाै उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बाग्मती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जनाको ज्यान गएकाे छ ।

यस्तै विपद्का घटनामा परेर यस अवधिमा एक सय नौ जना घाइते भएका छन् । पहिरो र बाढीमा परेका छ जना हराइरहेका छन् । चितवनमा बिहान बगेका दुई वटा बसमा रहेका यात्रुको सङ्ख्या भने यकिन भइसकेको छैन ।

मनसुन भित्रिएपछि विपद्का घटनाबाट तीन हजार पाँच सय ४७ घरपरिवार विस्थापित भएका छन् । मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानसम्म देशका पूर्वी र मध्य भागमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *