नेपालसहित चार देशका विद्यालय दिवा खाजा कार्यक्रमलाई ४० लाख डलरको सहायता घोषणा

३ साउन, काठमाण्डौ ।  नेपालसहित चार वटा देशमा सञ्चालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रम अमेरिका र लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन (एलसीआईएफ) ले संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का लागि ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् । आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, डब्ल्यूएफपीका प्रतिनिधि तथा कन्ट्री डाइरेक्टर रोबर्ट कास्का र लायन्स इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेराले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् ।

यो अनुदानले नेपाल सरकारको पहलमा शुरु भएको विद्यालय दिवा खाजा कार्यक्रमलाई थप टेवा पुग्नेछ । विद्यालय दिवा खाजा कार्यक्रम (मिड–डे मिल प्राेग्राम) मार्फत यो अनुदानबाट कर्णाली प्रदेशको सुर्खेत र जाजरकोट जिल्लाका आठ सय वटाभन्दा बढी विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका ९० हजार जनाभन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन् ।

लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेराले लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन र विश्व खाद्य कार्यक्रम अमेरिकाको सहयोगमा नेपाल र विश्वभरका बालबालिकाहरूका लागि पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच सुनिश्चित गर्न काम गरिरहेकाे बताउनुभयाे ।

विद्यालय दिवा खाजा कार्यक्रमले बालबालिकाहरूको शिक्षा, स्वास्थ्य तथा पोषणमा सुधारका निम्ति अनवरत रूपमा काम गर्दै आइरहेको छ, स्थानीय उत्पादनमा आधारित यसकाे अवधारणा र अभ्यासले गर्दा स्थानीय किसान तथा समुदाय लाभान्वित हुँदै आइरहेका छन् । स्थानीय किसानहरूसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रमले स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै भरपर्दो खाद्य प्रणाली सिर्जना गरेको छ भने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकासको लक्ष प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्दछ ।

विश्व खाद्य कार्यक्रम विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि हातेमालो गर्ने विश्वको सबैभन्दा ठूलो संस्था हो । यो संस्थाले समुदाय, सरकार र निजी क्षेत्रसित साझेदारी गरेर विद्यालयका बालबालिकाहरूलाई गुणस्तरीय दिवा खाजाको पहुँच सुनिश्चित गर्दछ । यो कार्यक्रमको उद्देश्य विद्यालयप्रति छात्रछात्राको आकर्षण बढाउन, विद्यार्थीहरूको पोषणको साथसाथै स्वास्थ्यमा सुधार ल्याउन लैङ्गिक समानताका लागि र स्थानीय उत्पादन र बजारीकरणको संवाहकको भूमिका निर्वाह गर्नु हो ।

नेपालमा दिवा खाजा कार्यक्रमले दैनिक ३० लाख जनाभन्दा बढी विद्यार्थीहरूलाई फाइदा पुर्‍याउँछ। डब्ल्यूएफपी नेपालका देशीय निर्देशक रोबर्ट कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खाना मात्र नभई स्थानीय किसानहरूलाई समर्थन गर्दै सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गरिरहेकाे बताउनुभयाे ।

सन् १९६८ मा स्थापित लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन (एलसीआईएफ) विश्वव्यापी संस्था हो र यसले काम गर्ने पाँच विश्वव्यापी कामका क्षेत्रहरूमध्येको एक क्षेत्र भोकमरी हो । आफ्ना १४ लाख सदस्यमार्फत लायन्स क्लब इन्टरनेशनलले अनेक सामाजिक कार्यहरू गर्दै आइरहेको छ र सदस्यहरूकै सहयोगबाट अनुदान कोषसमेत सञ्चालन गर्दछ । एलसीआईएफले अहिलेसम्म अनुदानमार्फत एक अर्ब दुई करोड अमेरिकी डलर (एक खर्ब ६० अर्ब रुपैयाँ) भन्दा धेरै अनुदान सहायता वितरण गरिसकेको छ । लायन्सले स्वास्थ्य, समाज कल्याणका साथै समुदायलाई सबल बनाउने र आवश्यक परेकाहरूलाई स्थानीय र विश्वव्यापी रूपमा सहयोग गर्दै आइरहेको छ ।

नेपालमा लायन्सको सेवा सन् १९७१ देखि शुरु भएको हो । अहिले देशका ७० वटा जिल्लामा दुई हजारभन्दा बढी लायन्स क्लब सक्रिय छन् । यी क्लबमा आबद्ध ४६ हजार जनाभन्दा बढी सदस्य मानवीय सेवाका निम्ति समर्पित छन् । लायन्सले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, प्रकोपमा राहत र सामुदायिक विकासका गतिविधिहरूलाई सहयोग गर्दछ । विगत ४० वर्षमा लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नेपालमा विभिन्न परियोजनाहरूलाई २० मिलियन डलर (दुई अर्ब ६७ करोड रुपैयाँ) भन्दा बढी अनुदान सहयोग उपलब्ध गराइसकेको छ । सन् २०१३ मा लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नेपाल सरकारको दादुरा (रुबेला) खोप अभियानलाई सहयोग गरेको थियो, सन् २०१५ को भूकम्पपछि सरकारी विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको लायन्सले जाजरकोटमा भर्खरै गएको भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माणमा पनि सहयोग गरिरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *