त्रिशूलीमा वेपत्ता भएका बस र यात्रुको खोजीमा भारतीय उद्धारकर्ताको टोली सहभागी

६ साउन, काठमाडौं ।  मुग्लिन–नारायणगढ सडकको सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धारकर्ताको १२ सदस्यीय टोली पनि सहभागी भएको छ ।

हिजो चितवन आएको चार जना गोताखोरसहित १२ सदस्यीय भारतीय टोली पनि सहभागी भएका गृह मन्त्रालयअन्तर्गतको कमाण्ड पोष्टका संयोजक एवम् गृह मन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुषालले जानकारी दिनुभयो ।

भारतको राष्ट्रिय आपदा मोचन बलु (एनडीआरएफ) का प्राविधिकसहितको टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने बताइएको छ ।

भारतीय टोली एक हप्ता खोजीमा संलग्न हुने छ । असार २८ गते शुक्रवार भएको घटनापछि दुइवटै वस र यात्रु हराइरहेका छन् । बससँगै ६२ जना यात्रु हराएकामा अहिलेसम्म २५ वटा शव भेटिएको छ । भेटिएका शवमध्ये १७ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै बस र ३७ जना यात्रुको अवस्था थाहा भएको छैन ।

घटना भएकै दिनदेखि शसस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले प्रविधिसहित निरन्तर खोजी गर्दै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *